नेभिगेशन
जीवनयापन

नागरिकता विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाइयाे

काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सुझावसहित संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक सभामुख सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका हुन् । राष्ट्रपतिले फिर्ता गरेको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट जस्ताको तस्तै पारित भएपछि सभामुख सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका हुन्। यसअघि राष्ट्रपति भण्डारीले गएको साउन २९ गते नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । तर त्यसको दुई दिनपछि सत्तारूढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै पास गर्ने निर्णय गरेको थियो । त्यसपछि भदौ २ गते औपचारिकता पुर्‍याउन छलफल गरेर प्रतिनिधि सभाले विधेयक पास गरेको थियो । त्यसपछि राष्ट्रिय सभामा पुगेको विधेयक सभाले विधायन समितिमा पठाएको थियो । त्यहाँ पनि विधेयक संशोधन भएन । अब सङ्घीय संसद्‍बाट दोस्रो पटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै