कांग्रेससँग च्याखे थाप्दै साना दल
काठमाडौँ – सत्ता गठबन्धनका साना दलहरू नेपाली कांग्रेसलाई गलाउने रणनीतिमा छन् । सत्ता गठबन्धनका दलहरू मिलेर निर्वाचनमा जाने भएपछि सिट बाडँफाँड पेचिलो बन्दै गएका बेला इमोसनल बार्गेनिङ गर्दै विशेषगरी नेकपा माओवादी केन्द्र कांग्रेसलाई गलाउने रणनीतिमा जुटेको छ।
मंगलबार धनगढी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कांग्रेस ८० सिटमा रहने गरी सहमति भएको बताए । उनले गठबन्धनका अन्य दलहरू र कांग्रेसले प्रत्यक्ष निर्वाचनमा बराबरी सिट बाँडफाँड गरिनु पर्ने बताए ।
तर, रिपोर्टस् क्लबमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले एक सय सिटको लागि महामन्त्री गगन थापा बोलिसकेकाले ९० सिटसम्म कांग्रेस आउन सक्ने बताए । उनले भने, ‘अहिलेको गठबन्धनको शाख जोगाइ राख्न नेपाली कांग्रेसलाइ पहिलो पार्टी हुन दिनु पर्छ।’
संगठन नभएका ठाउँमा अन्य दलहरूले दावी गर्न नहुने भन्दै उनले सम्मानजनक उम्मेदवारीको नाममा संगठन नै नभएको ठाउँमा पनि उम्मेदवारी मागेर अन्य दलहरूले हलो अड्काइरहेको बताए । उनले भने, ‘नेकपा एस भर्खर फुटेर बनेको पार्टी हो । माओवादीको पनि संगठन त्यति राम्रो छैन। तर, उहाँहरूले आफ्नो संगठन नभएको ठाउँमा नै उम्मेदवारी मागी रहनु राम्रो होइन्।’
कांग्रेस नेता प्रधानले देउवालाई पार्टी भित्रकै उम्मेदवारहरूको व्यवस्थापन कठिन भएको बताए । उनले भने, ‘लामो समयदेखि कांग्रेस भित्र रहनु भएका थुप्रै नेताहरू हुनुहुन्छ। २०७४ सालको निर्वाचनमा हार व्यहोरेका नेताहरूले पनि यो निर्वाचनमा जित्छौ भन्नु भएको छ। यसरी हेर्दा अहिले बाहिर आएजस्तो ८० सिटले पुग्दैन।’
उनी कांग्रेसले ९५ सिटमा बार्गेनिङ गर्ने र ९० सिटमा चित्त बुझाउन सक्ने सम्भावना भएको बताउँछन् । तर, नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्मा भने अहिलेको गठबन्धनलाई निर्वाचन र त्यसभन्दा पनि अगाडिसम्म लैजानका लागि कांग्रेसले सम्मानजनक व्यवहार गर्ने बताउँछन् ।
उनले भने, ‘एउटा उदाहरण दिन्छु। हामी बजारमा छौँ। केही सामानको लागि १०० रुपैयाँ आवश्यक पर्छ । हामीसँग ९९ रुपैयाँमात्र छ भने त्यो १ रुपैयाँको महत्व कति हुन्छ ? त्यसबेला थाहा हुन्छ।’
निर्वाचनमा माओवादी केन्द्र, नेकपा एस, जसपा लगायतका पार्टीहरूको संगठन र मतभार कम भए पनि सम्मानजनक उपस्थिति हुनु पर्ने उनको भनाइ छ । उनले थपे, ‘प्रधानमन्त्री ज्यूलाई पनि थाहा छ । साना दलहरूको एक भोटको कति महत्व हुन्छ। त्यसैले उहाँलाई थुप्रै चुनौतीका बीच पनि सबैलाई सम्मानजनक उपस्थितिमा राखेर अघि बढ्नु हुन्छ भन्ने विश्वास छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्षले धनगढीमा गएर बोलेको विषयलाई उनकै पार्टीका नेता शर्मा र नेपाली कांग्रेसका नेता प्रधानको भनाइले खण्डन गरेको छ । अहिलेसम्म पनि सत्ता गठबन्धन भित्र सिट बाँडफाँडको कुरा मिलिसकेको छैन।
कुनै बेला सडकमा जाने र कहिले वाम एकताको कुरा गरेर नेपाली कांग्रेसलाई साना दलका तर्फबाट प्रचण्ले डर देखाइरहेका छन् । स्थानीय तहको नतिजा अनुसार तेस्रो स्थानमा रहेको माओवादी केन्द्र आउने प्रतिनिधिसभाको निर्वाचनबाट सरकारको नेतृत्व गर्ने तयारीमा जुटेको छ।
नेपाली कांग्रेसलाई ८० सिटमा खुम्च्याउन सकिएको अवस्थामा सानादलहरुलाई साथमा लिएर सरकारको नेतृत्व गर्ने लिने रणनीतिमा प्रचण्ड रहेका छन् । भने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापा पनि प्रधानमन्त्रीको लागि आकांक्षी भएको कांग्रेस नेताहरू बताउँछन् ।
स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्नु पर्ने कतिको बिचार छ भने कतिले २०७४ सालको निर्वाचनमा जितेको आधारमा अहिलेको सिट बाँड्फाट हुनु पर्ने तर्क प्रस्तुत गर्दै आएका छन् ।
गएको स्थानीय तहरको निर्वाचनलाई हेर्ने हो भने नेपाली कांग्रेसले सबै भन्दा बढी मत ल्याएको छ। माओवादीले पनि आफ्नो मत सुधार गरेको छ भने जसपा र नेकपा एसको मत गठनबन्धन हुँदा पनि त्यति राम्रो छैन।
स्थानीय तहमा कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको पार्टी हो । कांग्रेसबाट १३ हजार ७ सय ३७ जनप्रतिनिधि निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र) बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा नेकपा एकीकृत समाजवादी र जसपासमेत समावेश छन् ।
स्थानीय तह निर्वाचनमा कांग्रेसबाट १ सय ४० प्रमुख, १ सय १० उपप्रमुख, १ सय ८८ अध्यक्ष, १ सय ९० उपाध्यक्ष, दुई हजार ६ सय ६१ वडाध्यक्ष, दुई हजार ६ सय महिला सदस्य, दुई हजार ५ सय ४७ दलित महिला र वडा सदस्य पाँच हजार ३ सय १ निर्वाचित भएका छन्।
माओवादीबाट नगर प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९ सय ६३, दलित महिला सदस्य ९ सय ७३ र वडा सदस्यमा एक हजार ८ सय ६ निर्वाचित भएका छन्।
यस्तै, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चार हजार ३४८ निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१७
प्रतिक्रिया दिनुहोस्