महिला साफ च्याम्पियनसीपमा नेपालको विजयी सुरुवात
काठमाडौँ – छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ।
मंगलबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले शानदार जित हात पारेको हो। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरे।
नेपालले खेलको १२ औँ मिनेटमा सुरुवाती अग्रता लिएको थियो। अमिषा कार्कीको प्रहार भुटानकी गोलरक्षक संगीता मोङ्गरले वान टचमा समाउन नसकेपछि पाएको रिबाउन्डलाई सावित्राले सुन्दर गोलमा परिणत गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।
पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा तीन गोल थपेको हो। खेलको ६८ औँ मिनेटमा रेखा पौडेलको पासमा सावित्राले नेपालका लागि दोस्रो गोल गरिन्।
खेलको ७३ औँ मिनेटमा अनिता बस्नेतको गोलबाट नेपालले अग्रता तेब्बर बनाएको थियो। अनिताले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरिन्।
अनिताले नै खेलको ८४ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गरिन्। अनिता केसीको प्रहार भुटानकी गोलरक्षकले क्लीयर गर्न नसकेको बललाई बस्नेतले गोलमा परिणत गरेकी हुन्।
झरीको बीच भएको खेलमा भुटानले केही राम्रा अवसर बनाए पनि नेपालविरुद्ध गोल गर्न भने सकेन।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:०१
प्रतिक्रिया दिनुहोस्