वृक्षारोपण गरेर संगीतकार दीपकले मनाए जन्मदिन
काठमाडौं–संगीतकार दीपक शर्माले आफ्नो जन्मदिन वृक्षारोपण गरेर मनाएका छन् । पछिल्लो समय जन्मदिनमा केक नकाट्ने घोषणा गरेको उनले आफ्नो जन्मदिनमा मनाउँदा हुने फजुल खर्च वृक्षारोपणमा खर्चेका छन् ।
उनले मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नागडोलको छालाङमा रहेको ब्रम्हाकुमारी ओम शान्ति प्रतिष्ठानको प्रांगणमा वृक्षारोपण गरे ।
‘गीत संगीत सृजना गरेर कालान्तरसम्मका लागि मैले आफ्नो सिर्जना पस्कँदै आएको छु । यस्तै अन्य सामाजिक काम पनि गर्ने उद्देश्यले वातावरण संरक्षणको लागि यसपटकबाट वृक्षारोपण गरेको हुँ,’ उनले भने ।
उनले त्यहाँ कपुर, ओखर, तेजपत्ता, पैयुँ, समीसहित विभिन्न प्रजातिको वृक्षारोपण गरेको बताए । ‘औषधीजन्य वनस्पती, सुगन्धित वनस्पति र अन्य वनस्पतीको विरुवा आज रोप्ने काम गरियो । यो बिरुवालाई बेला बेलामा गोडमेला गर्न पनि म त्यहाँ पुग्ने छु,’ उनले भने । ती विरुवाहरु संरक्षण गर्दै हुर्काउन एकजनालाई जिम्मासमेत दिएको पनि उनले बताए ।
एक हजार भन्दा बढी गीतमा संगीत गरिसकेका दीपक शर्माले पछिल्लो समय आफु छक्का पञ्जा ४ लगायतका चलचित्रको संगीत सृजनामा व्यस्त रहेको सो क्रममा जानकारी गराए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १६:२४
प्रतिक्रिया दिनुहोस्