Nic Ad Nic Ad
Nic Ad Nic Ad

के आज सत्तागठबन्धनले सिट बाँडफाँडलाई निकास देलान् त ? 

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बिहीबार टुङ्ग्याउने भएको छ ।  कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको थियो । बैठकले चुनावी तालमेल र सिट बाँडफाँडका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितकाे प्रतिवेदन बिहीबार बिहान बैठक बसी शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिएका छन् । सिट बाँडफाँडका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उनले बताए । दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँडका खाका बनाइएको छ । कार्यदलको बैठक बिहीबार बिहान ९ बजे पुन: बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको सचिव पुरीले जानकारी दिए । तथापि सत्ताधारी दलहरूबीच सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको छ । दलहरूले आ–आफ्नो अडान कायम राख्दा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको हो । साउनको अन्तिम साता टुङ्ग्याउने भनिएको सिट बाँडफाँडको विषय भदौको अन्तिम साता आइपुग्दा समेत टुङ्गिएको छैन । सत्तागठबन्धनलाई निर्वाचन सम्म कायम राख्ने सहमति भएपनि गठबन्धनभित्र कुन मोडालिटीमा सिट बाँडफाँड गर्ने र निर्वाचनमा कसरी जाने भन्ने विषय भने सकस बन्दै गएको छ । २०७४ सालको निर्वाचनमा आफूले जितेका क्षेत्र यथावत राख्दै एमालेले जितेका क्षेत्र बाँडफाँड गर्ने वा स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा सिट बाँडफाँड गर्ने भन्ने विषयले सत्ताधारी दलबीच अन्यौल सिर्जना गरेको छ । २०७४ सालमा आफूले जितेका सिट यथावत राख्दै एमालेले जितेका ठाउँमा मात्रै भागबन्डा गर्दा कांग्रेसका आधा दर्जन भन्दा धेरै शीर्ष नेताहरू टिकट पाउन बाट बञ्चित हुने छन । नेपाली कांग्रेसले एकल बहुमत ल्याउने गरी आफ्नो दाबी अघि प्रस्तुत गरेको छ । स्थानीय तहको मतपरिणामले हौसिएको नेकपा माओवादी केन्द्रले निर्णायक शक्ति हुने गरी आफूलाई अघि सारेको छ । कांग्रेसले आगामी निर्वाचनबाट एकल बहुमत सरकारको नेतृत्व गर्ने दाबी गरेकोमा माओवादी केन्द्रले पनि गठबन्धकै सहारामा सरकारको नेतृत्व गर्ने इच्छा देखाएको छ ।  कांग्रेस भित्र संस्थापन इतर सुमहले कम्तीमा पनि १०० सिट राखेर अन्य सिट बाँडफाँड गर्नुपर्ने दबाब प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई दिँदै आएको छ । यद्यपि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने कांग्रेसले ८० र माओवादी केन्द्रले ६० सिट पाउँनु पर्ने अडान राख्दै आएका छन । माओवादी केन्द्रले आगामी निर्वाचन पछि देशको नेतृत्व गर्ने गरी आफूलाई अघि सारेको माओवादी केन्द्रका एक पदाधिकारीले भने ।  उनले भने “हामी देशको मुल शक्ति हौं । हाम्रै पहलमा देशमा संघीय गणतन्त्र स्थापना भएको हो । अब हाम्रै नेतृत्वमा आन्दोलनका उपलब्धिलाई कार्यान्वयन गर्नु छ । सायद संघीय निर्वाचन पछि दुई पार्टी बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बन्छ । त्यसमा एक पार्टी हामी हुने छौं । अर्को अवश्य कांग्रेस हुने छ ।” अन्य तीन दलले पनि सम्मानजनक सिट बाँडफाँड हुनु पर्ने जोड दिदै आएका छन । स्थानीय तह निर्वानको मतपरिणामले सबै भन्दा धेरै चिडिएको नेकपा एकीकृत समाजवादीले कम्तीमा पनि ४० सिट पाउँनु पर्ने दाबी गर्दे आएको  छ । आफूहरुले राजनीतिक जिवननै दाउमा राखेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै सिट बाँडफाटमा भेदभाव गर्ने नहुँने एकीकृत समाजवादीका नेताहरुको भनाई छ ।  तराई मधेशमा राम्रो पकड बनाएको जनता सभाजवादीले कम्तीमा पनि ३२ सिट पाउँनु पर्ने दाबी गरेको छ । बागलुङ, अर्घखाँची, प्युठान लगाएका जिल्लाहरुमा राम्रो उपस्थित जनाएको राष्ट्रिय जनमोर्चाले पनि २ सिटको दाबी गरेको छ ।  डा.बाबुराम भट्टराई र बामदेव गौतम पनि गठबन्धनमा सहभागी भएपछि उनीहरुलाई व्यवस्थापन गर्न गठबन्धनलाई चुनौती थपिएको छ । त्यसमाथी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी(लोसपा) पनि गठबन्धनमा सहभागी हुने विषयले गठबन्धनका दलहरूलाई सिट बाँडफाँडको विषय टाउको दुखाइको विषय बनेको छ ।  सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएका बेला दलहरूले भने धमाधम उम्मेद्वारको नाम सिफारिस गरेका छन । सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएका बेला कतै गठबन्धनबीच फाटो आउँने त हैन भन्ने विशलेषण समेत हुन थालेको छ । यद्यपि सत्तारुढ दलका नेताहरुले भने सिट बाँडफाँडको विषयले गठबन्धनमा कुनै फाटो नआउँने दाबी गरेका छन । नेकपा एकीकृत समाजवादीका उप—महासचिव डा.गंगालाल तुलाधरले भने“ हामीले हाम्रो पार्टीको निर्णय अनुसार सबै जिल्ला कमिटीलाई नाम सिफारिस गर्न लगाएका हौं । अन्य दलले पनि त्यहि गरेका हुन । गठबन्धनका दलहरूबीच सिट बाँडफाँडको विषयमा सहमति जुटको अवस्थामा हामीले नपाउँने ठाउँबाट हामीहरु पछि हट्छौं र गठबन्धनका उम्मेद्वारलाई विजय गराउँछौं । हामीले पाउँने सहमति भएका ठाउँमा गठबन्धनका उम्मेद्वारले हामीलाई सहयोग गर्नु हुन्छ र हामी विजय हुन्छौं । यसले गठबन्धनलाई कुनै असर गर्देन  । ” दलहरु बीच सिट बाँडफाँडको विषयमा सहमति जुट्न नसक्दा शीर्ष नेताहरुको निर्वाचन क्षेत्र पनि अन्योल बन्दै गएको छ ।  प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डढडेल्धुराबाट निर्वाचन जित्ने निश्चित जस्तै भएकाले उनी अन्य क्षेत्रमा नजाने पक्का जस्तै छ । देउवा बाहेक नेपाली कांग्रेस सहितका अन्य दलका शीर्ष नेताहरू कहाँ बाट निर्वाचन लड्ने भन्ने दुविधामा छन् । शीर्ष नेताहरुको नाम दुई भन्दा धेरै जिल्ला बाट सिफारिस गरिएको छ । तर संविधानले एउटा निर्वाचन क्षेत्र बाट मात्रै उम्मेद्वारी दिन पाउने व्यवस्था गरेकाले उनीहरुलाई कहाँ बाट उम्मेद्वारी दिने भन्ने विषयले अन्योलता सिर्जना गरेको हो । धेरैजसो नेताहरुको आगामी निर्वाचन नै अन्तिम निर्वाचन हुने भएकाले पनि उनीहरु सुरक्षित क्षेत्रको खोजिमा छन । राजनीतिक विश्लेषक प्रा.डा.विष्णु दाहाल भन्छन् – “नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई के भ्रम छ भने स्थानीय तहको निर्वाचनमा हाम्रो सबै मत कांग्रेसलाई गयो । कांग्रेसले सबै भन्दा धेरै फाइदा लियो । तर कांग्रेसको सबै भोट हामीलाई अयन । त्यसैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेसलाई बहुमत ल्याउन नदिने गरी गठबन्धनको भागबन्डा गर्न खोजेका छन् ।  निर्वाचन पछि उनी कांग्रेसले मानेन भने पनि एमालेसंग मिलेर प्रधानमन्त्री हुने दाउमा छन । त्यसैले प्रचण्डकै कारण स्त्तागठबन्धनका दलहरूबीच सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको छ ।” रामचन्द्र पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीका नेता कृष्ण कुमार श्रेष्ठ तगारो बनेका छन । सत्तागठबन्धनको शुत्रधार आफू भएको दाबी गर्दे आएका वरिष्ठ नेता पौडेलले तनहँ क्षेत्र नं १ बाट उम्मेद्वारी त घोषणा गरेका छन तर पूर्व मन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले तनहँ १ नछोडे रामचन्द्र पौडेललाई टिकट पाउन कठिन छ । सत्ताधारी दलहरु बीच अघिल्लो निर्वाचनमा जितेका सिट यथावत राख्दै एमालेले जितेका सिट मात्रै बाँडफाँड गर्ने सहमति भयो भने तनहँ क्षेत्र नं १ बाट रामचन्द्र पौडेल उम्मेद्वार बन्ने सपना अधुरै रहने छ ।  कृष्ण सिटौला सिट बाँडफाँड कार्यदलका संयोजक समेत रहेका कांग्रेस नेता कृष्ण सिटौला आफै कहाँ बाट निर्वाचन लड्ने भन्ने अहिले सम्म पनि टुङगो लागेको छैन । २०७४ सालको निर्वाचनमा पराजित भए पछि सिटौलाले अधिकांश समय झापा क्षेत्र नं ३ मै बिताउँने गरेका छ । तर उनलाई यसपाली पनि  त्यहाँबाट निर्वाचन जित्न कठिन देखिएकोछ । अघिल्लो निर्वाचनमा राप्रपाका उम्मेद्वार राजेन्द्र लिङदेनसंग पराजित सिटौलालाई यसपाली राप्रपाका अध्यक्ष लिङदेन ठूलो चुनौती बनेर खडा भएका छन । राप्रपाले झापा क्षेत्र नं ३ बाट अध्यक्ष लिङदेनलाई उम्मेद्वारी बनाउँन सिफारिस समेत गरिसकेको छ । एमालेले राप्रपालाई सहयोग गरेको अवस्थामा सिटौला यसपाली पनि पराजित हुने तथ्यांक स्थानीय तहको निर्वाचनले देखाएको छ ।  गोपालमान श्रेष्ठ र धनराज गुरुङ स्याङजा क्षेत्र नं २ मा उपसभापती धनराज गुरुङ र पूर्व उपसभापती गोपालमान श्रेष्ठमा कसले टिकट पाउने भन्ने अन्योल छ । अघिल्लो निर्वाचनमा एमालेकी उम्मेद्वार पद्मा अर्यालसंग पराजित भएका गोपालमान श्रेष्ठले यसपाली एमाले सचिव अर्यालसंग बदला लिने तयारीमा छन । स्थानीय तहको मतपरिणाम अनुसार पनि एमाले भन्दा क्षेत्र नं २ मा सत्ता गठबन्धन धेरै बलियो छ । त्यसै पनि यसपालीको निर्वाचनमा गोपालमान श्रेष्ठले आफै उठ्ने तयारी गरेका छन । यता उपसभापती धनराज गुरुङले पनि कांग्रेसको विजय पक्का भएको भन्दै आफै उम्मेद्वार बन्ने तयारी गरेका छन । उपसभापती गुरुङ निकट एक नेताले भने “दाई पहिला टिकट लिने ठाउँमा हुनुहुन्थ्यो तर अहिले आफैं दिने ठाउँमा हुनुहुन्छ । त्यसैले दाई आफैं निर्वाचन लड्ने तयारी गर्नु भएको छ । स्याङजामा एमाले भन्दा कांग्रेस धेरै बलियो शक्ति हो ।  कम्युनिष्ट फुटेको मौका पनि यहि छ । यसपाली त हाम्रो पक्का जित हुने छ । ” महत दाजु भाईले नुवाकोट ताक्दै अघिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट पराजित कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट लड्ने तयारी गरेका छन । यद्यपि उनको नाम फेरी काठमाडौं क्षेत्र नं ५ का साथै नुवाकोट १ बाट पनि  सिफारिस गरिएको छ । नुवाकोट क्षेत्र नं १ मा कांग्रेस नेता डा.रामशरण महतले पनि दाबी गर्दे आएका छन । यस अघि वाम गठबन्धनका उम्मेद्वारसंग पराजित पूर्व अर्थमन्त्री महत, यसपाली भने गठबन्धनको सहारामा निर्वाचन जित्ने दाउमा छन ।  सत्ता गठबन्धन कायम रहेको अवस्थामा कांग्रेसका आधा दर्जन भन्दा बढी शीर्ष नेताले प्रत्यक्ष तर्फ चुनाव लड्न पाउँदैनन । त्यसैले पनि होला, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पनि गठबन्धनमा सहभागी भए टिकट नपाउँने डरले कांग्रेस नेता विमलेन्द्र निधिले  समानुपातिक तर्फ नाम  सिफासिर गराइसकेका छन ।  कांग्रेस भित्रै शीर्ष नेताहरुलाई निर्वाचन क्षेत्र छान्न सकस परेका बेला प्रवक्ता प्रकाशशरण महतले भने “ सबै भन्दा पहिला त गठबन्धन भित्रै सिट बाँडफाँडको विषयमा टुङगो लागेको छैन, गठबन्धनका दलहरु बीच कम्तीमा पनि सिट शंख्याको टुङगो लाग्यो भने हाम्रो पार्टीले सबैलाई मिल्ने गरी उम्मेद्वार बनाउँछ । ” पुष्पकमल दाहल प्रचण्ड हरेक चुनावमा फरक फरक निर्वाचन क्षेत्रबाट निर्वाचन लड्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, आगामी निर्वाचन कहाँबाट उम्मेद्वारी दिने हुन थाहा छैन । माओवादी स्रोतका अनुसार प्रचण्ड, चितवन भन्दा पनि सुरक्षित क्षेत्र खोजीमा छन । चितवनका कांग्रेसीले सहयोग नगरेको अवस्थामा प्रचण्डले चुनाव हार्ने निश्चित छ । त्यसैले प्रचण्ड चितवन छोडेर बर्दिया, गोरखा, बाग्लुङ, गोरखा अथवा रुकुम रोल्पा जान सक्ने समेत अनुमान गरिएको छ ।  २०७४ सालको स्थानीय तहको निर्वाचन देखिनै चितवनका कांग्रेसीले रुखलाई छोडेर हसिँया हतौडामा भोट हाल्न बाध्य पारिएको भन्दै रुष्ट बनेका छन । प्रचण्डको नाम गोरखा क्षेत्र नं १, र बाग्लुङ बाट पनि सिफारीस गरिएको छ ।  स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहाललाई समर्थन गरेको  भन्दै भरतपुर महानगरपालिकामा जगन्नाथ पौडेलले बागी उम्मेद्वार दिएका थिए । स्थानीय तहको निर्वाचनमा कांग्रेसका बागी उम्मेद्वारको बाबजुत पनि रेणु दाहालले निर्वाचन जिते पनि आगामी निर्वाचनमा यस्तै घटना होदोरिएको अवस्थामा प्रचण्डलाई चुनौती हुने देखिएको छ ।  माधव कुमार नेपाल नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपाललाई पनि निर्वाचन जित्न सहज छैन । अध्यक्ष नेपालले एक्लै निर्वाचन लड्ने त परिकल्पना समेत गरेका छैनन । सत्ता गठबन्धनको सहारामा समेत उनलाई निर्वाचन जिताउन कठिन भएको गठबन्धनका नेताहरुको भनाई छ । जनआधार र संघठन नै नभएका कारण माधव नेपाललाई काठमडौं क्षेत्र नं २ अथवा रौतहट कहाँ बाट निर्वाचन लडाउने भन्ने विषयमा छलफल भइरहेको गठबन्धनका  एक नेताले बताए ।   उपेन्द्र यादव संसदीय अभ्यासमा माहिर मानिएका जनता समाजवादि पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि निर्वाचन क्षेत्र छान्न सकस परेको छ । सप्तरी दुई बाट निर्वाचत अध्यक्ष यादवलाई यसपाली जनमत पार्टीका अध्यक्ष सिके राउतले चुतौती दिएका छ । मधेशमा जबरजस्त उपस्थित देखाएका अध्यक्ष राउतलाई एमाले र लोसपाले समर्थन गरे उपेन्द्र यादव पराजित हुन सक्ने मधेश मामिलाका जानकारहरुले बताएका छन । त्यसैले पनि होला आगामी प्रतिनिधि सभाका लागि उपेन्द्र यादवको नाम बारा २ बाट सिफारिस गरिएको छ । बामदेव गौतम हक्की तर सधैका अस्थिर नेताका रुपमा चिनिएका बामदेव गौतम पनि कहाँ बाट निर्वाचन लड्ने हो अहिले सम्म अन्योल छ । एमाले परित्याग गरी नयाँ दल गठन गरेका गौतम सत्ता गठबन्धनको समर्थनमा बदिर्या अथवा प्युठानबाट निर्वाचन लड्ने तयारी गरेका छन ।  बामदेव गौतमलाई प्युठान छोडेको अवस्थामा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई व्यवस्थापन गर्न गठबन्धनलाई चुनैती छ ।  डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ अघिल्लो निर्वाचनमा गोरखाको एकै क्षेत्रमा निर्वाचन लडेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मिलाउन पनि कठिन छ । २०७४ सालको निर्वाचनमा भट्टराई कांग्रेसको समर्थनमा निर्वाचन जितेका थिए भने श्रेष्ठ बाम गठबन्धनको समर्थनमा निर्वाचन लड्दा पनि पराजित भएका  थिए । अहिले दुबै नेता एउटै गठबन्धनमा  छन । दुबैले एकै क्षेत्रमा दाबी गरेका कारण उनीहरुलाई मिलाउँन गठबन्धनलाई कठिन देखिएको छ । गोरखा क्षेत्र नं २ बाट नारायण काजिको नाम माओवादी केन्द्रले सिपारीस गरेको छ । दुई क्षेत्र रहेको गोरखामा, यसपाली दुबै क्षेत्रमा आफूहरुले टिकट पाउनु पर्ने कांग्रेसको अडान छ ।  अग्नि सापकोटा र मोहन बस्नेत  सत्ता गठबन्धनबीच टिकट बाँडफाँडमा सबै भन्दा पेचिलो सिन्धुपाल्चोक क्षेत्र नं १ हुने देखिएको छ । यहाँ सभामुख समेत रहेका माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा र प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्र मोहन बस्नेतबीचको जुँगाको लडाइ चलेको छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार मोहन बस्नेतलाई पराजित गरेका सापकोटा,फेरी पनि निर्वाचन लड्ने बुझिएको छ । स्थानीय तहको निर्वाचनमा समेत थोरै पालिकामा मात्रै गठबन्धन गरेका दलहरूले आगामी निर्वाचनमा मिलेर जाने सम्भावना न्यून छ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं १ कुनै पनि हालतमा नछोड्ने अडान राख्दै आएका छन । गठबन्धनका नाममा आफ्नो क्षेत्र माओवादी केन्द्रलाई दिइए विद्रोह गर्ने सम्मको चेतावनी नेता बस्नेतले पार्टी कमिटिलाई दिएका छन । सत्तारुढण दलहरूले संविधान बचाउन गठबन्धनको आवश्यकता रहेको दाबी गर्दै आए पनि आलोचकहरुले भने सत्ता प्राप्तीका लागि मात्रै गठबन्धन गरेको बताएका छन । राजनीतिक विश्लेषक प्रा.डा.राजेन्द्र चापागाईले भने , “ कलंकिमा उभ्भिएको छ । एउटा जानु पर्नेछ थानकोट, अर्का जानु पर्ने छ चक्रपथ ।  अनि दुईटा फरक बाटो भएकाहरु सहयात्रा गर्छन भने उनीहरु कसरी गन्तव्यभा पुग्छन त ? त्यसैले यो अप्राकृतिक गठबन्धन हो । यो देश बनाउँनका लागि बनाइएको गठबन्धन हुँदै होइन । यो त सत्ता प्राप्तीका लागि मात्रै बनाइएको गठबन्धन हो । सत्ता स्वार्थ नमिल्ने बित्तीकै यिनीहरु फेरी तितरबीतर हुन्छन । ” सत्ताधारी दलका शीर्ष नेताहरू मात्रै होइन, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरू लाई पनि निर्वाचन क्षेत्र छान्न सकस परेको छ । स्थानीय तहको मतपरिणाम अनुसार झापामा राप्रपाले साथ दिएन भने एमाले अध्यक्ष ओलीलाई नै निर्वाचन जित्न कठिन छ । सत्तागठबन्धनका दलहरु इमान्दार भएर निर्वाचन लडे अध्यक्ष ओली मात्रै होइन  एमालेका धेरै नेताहरू निर्वाचनमा पराजित हुने स्थानीय तहको निर्वाचनले देखाएको छ ।  त्यसमाथी स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारको जबरजस्ती उपस्थितले राजनीतक दलका नेताहरू झस्किएका छन । कतिपय ठाउँमा क्षेत्रीय पार्टीहरुको पनि राम्रो पकड भएकाले ठूला दलहरु गठबन्धन बीना निर्वाचनमा गए हारिने डरले गठबन्धनको वैशाखी टेकेका छन् । 
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्