महंगीको मारमा युरोपः रेल यात्रा निःशुल्कदेखि नगद दिने प्याकेजको घोषणा
काठमाडौँ । बढ्दो महंगीका कारण एसिया, अमेरिकादेखि युरोपसम्मका देशका जनताको दैनिकीलाई असर गरिरहेको छ । युरोपका देशहरू दुई पक्षबाट प्रभावित छन् । त्यसैले धेरै देशमा राहत दिनको लागि कदम चालिएको छ । जर्मनीले जनतालाई राहत दिन र देशको अर्थतन्त्रलाई चलायमान बनाउन करिब ७५ अर्ब युरोको प्याकेज घोषणा गरेको छ ।
यो पछिल्लो समयमा तेस्रो र सबैभन्दा ठूलो राहत प्याकेज हो । यो प्याकेजबाट ज्येष्ठ नागरिकले ३०० युरो पाउनेछन् । यससँगै विद्यार्थीको खातामा २०० युरो पठाउने घोषणा गरेको छ ।
अर्कोतर्फ, स्पेनले मुद्रास्फीतिको मोर्चामा जनतालाई राहत दिन निःशुल्क रेल यात्रा योजना सुरु गरेको छ । अब स्पेनका जनताले बिना टिकट ३०० किलोमिटरसम्म यात्रा गर्न सक्नेछन् । यो योजना यस वर्षको अन्त्यसम्म लागू हुनेछ । अर्कोतर्फ स्वीडेनले विद्युत उत्पादनलाई तीव्रता दिन उद्योगहरूलाई आपतकालीन कोषको घोषणा गरेको छ । यसअघि सरकारले घरेलु बिजुली महँगो हुन नदिन ६६ मिलियन युरोको प्याकेज घोषणा गरेको थियो ।
स्पेनमा मुद्रास्फीति ११ प्रतिशत नजिक पुगेको छ । जसका कारण निस्शुल्क रेल यात्राको फाइदा आम नागरिकसँगै पर्यटकलाई पनि पुग्ने भएकाले खर्चमा बृद्धि भई अर्थतन्त्रलाई टेवा पुग्ने सरकारले विश्वास लिएको छ । जुनमा नै स्पेनले ७५ मिलियन डलरको राहत प्याकेज घोषणा गरेको थियो ।
युरोपका १९ देशमा मुद्रास्फीति ९ प्रतिशतभन्दा माथि छ । एक वर्षअघि मुद्रास्फीति ३ प्रतिशत मात्रै थियो । यूरोजोनका ९ देशहरूमा मुद्रास्फीति १० प्रतिशतभन्दा माथि छ। यस क्षेत्रमा पर्ने लिथुआनिया, लाटभियामा मुद्रास्फीति दर २० प्रतिशतको स्तर नाघेको छ ।
फ्रान्स युरोपमा एक मात्र ठाउँ हो, जहाँ मुद्रास्फीति ६.५ प्रतिशत छ, जुन युरोपमा सबैभन्दा कम हो। बेलायती नियामकले अक्टोबरमा ग्यास र बिजुलीको मूल्य दोब्बर हुने बताएको छ। यसले करोडौं जनताको समस्या बढ्नेछ । मुद्रास्फीति बढ्नुको मुख्य कारण इन्धनको मूल्यवृद्धि हो । इन्धनको मूल्य वार्षिक ३८।३ प्रतिशतले बढेको छ ।
युक्रेन र रुस युद्ध सुरु भएयता जर्मनीले अहिलेसम्म तीनवटा राहत प्याकेज घोषणा गरेको छ । ताजा प्याकेज सबैभन्दा ठूलो हो । यसअघि उनले दुई पटक २३७ मिलियन युरोको राहत प्याकेज घोषणा गरेका थिए ।