नेभिगेशन
जीवनयापन

पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने

काठमाडौं–विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक बर्ष २०७९/८० को लागि प्रस्तुत कार्यक्रम र बजेटमा यस्तो उल्लेख गरिएको छ । कोष सञ्चालक परिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पनि पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार परिषद्का अध्यक्ष एवम् मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले रु ९६ करोड ८४ लाख ४७ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ । पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ । शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताए । कोषको नीति, कार्यक्रम र बजेटमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । जीर्ण बनेका भौतिक संरचना निर्माण, मन्दिरका बहुमूल्य निधिको संरक्षण र संवद्र्धनलाई कोषले प्राथमिकता दिएको सदस्य–सचिव डा. मिलनकुमार थापाले बताए । वैठकमा कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई छिट्टै अन्तिम रुप दिने बारेमापनि छलफल भएको थियो । गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताए । पशुपति क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले पशुपतिनाथमा हुने मेला तथा दर्शन गर्न सहज र व्यवस्थित गर्नुपर्ने बताए । कोषका लागि चालु आर्थिक बर्षमा नेपाल सरकारबाट विभिन्न २६ वटा पुँजीगत कार्यक्रम संचालन गर्न रु २४ करोड बजेट विनियोजन भएको छ । कोषको आन्तरिक स्रोतबाट कोष कार्यालय, पशुपति मन्दिर र घाट सेवाका लागि रु २० करोड ७० लाख पुँजीगत खर्चको लागि बजेट व्यवस्थापन गरिएको कोषाध्यक्ष सुवेदीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै