नेभिगेशन
जीवनयापन

सहमतिमा होस् वा असहमतिमा, यस्तो गरे नाबालिग बलात्कार ठहरिन्छ ?

घटना १ : गत वर्षको फागुन १५ गते नायक पल शाहविरुद्ध प्रहरी कार्यालय गैँडाकोटमा उजुरी पर्‍यो । भिडियो निर्माण गर्ने बेला गैँडाकोट पुगेका शाहले अभिनय गर्न गएकी नाबालिगलाई बलात्कार गरेको आरोप लाग्यो । केही दिन पहिला नाबालिग यौन दुर्व्यवहारको मुद्दामा उनलाई जेल पठाइयो । घटना २ : गत ज्येठ ७ गते सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परे । आठ वर्षअघि सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनले नामक प्रतियोगिता आयोजना गरेका बेला प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको आरोपसहित उनी अहिले जेलमा छन् । घटना ३ : गत जेठ १० गते काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भए । कलेजका संयोजकसमेत रहेका  सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीलाई  केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लाग्यो । घटना ४ : नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको आरोपमा उजुरी परेको छ । १७ वर्षकी नाबालिगले क्रिकेटर लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । यी त भए केही प्रतिनिधि घटना । बलात्कारका घटनाहरू प्रहरी समक्ष थुप्रै आउने गरेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ हजार ५ सय बढी मुद्दा दर्ता १८ वर्ष भन्दा कम उमेर समूहका नाबालिग बलात्कृत भएको विषयमा दर्ता भएका छन् । प्रहरीले १० वर्ष मुनी २ सय ६८, ११ वर्षदेखि १६ वर्षसम्म ९ सय ६३ र १७ देखि १८ वर्षसम्म ३ सय २९ घटना दर्ता भएको जानकारी दिएको छ। प्रहरीका अनुसार १ हजार ५ सय ६० बालिका बलात्कार भएका छन् भने ५ सय ३५ महिला बलात्कार भएका घटनाहरू दर्ता भएका छन् । सामाजिक सञ्जाल नियाल्दा सामाजिक सञ्जाल नियाल्दा दृष्य फरक देखिन्छ । सामाजिक सञ्जालमा एक थरीले बलात्कारका घटनाहरूलाई नियतबस भन्ने गरेका छन् । फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल हेर्ने हो भने केटी मान्छे किन दिनभरी घुमेको, केटी मान्छे किन गएको, केटी मान्छेको पनि नियतमा खोट छ लगायतका प्रतिक्रियाहरू पाइन्छन् । सेलिब्रेटीहरूका नै बदनाम  गराउने नियतले यस्ता घटनाहरू सुनियोजित गराइने आरोप पनि सामाजिक सञ्जालमा लाग्ने गरेको छ। कतिपयले सामाजिक सञ्जालमा मन मिल्दासम्म चमत्कार, बार्गेनिङ नमिले बलात्कार जस्ता शब्दावली पनि प्रयोग गरेको पाइन्छ । भने सामाजिक सञ्जालमा पीडितकै अभिभावकलाई अपशब्दहरु प्रयोग गर्दै अझै पीडा दिने काम भइरहेको पनि पाइन्छ । के भन्छ कानून  सामाजिक सञ्जाल र समाजले जे भने पनि नेपालको कानूनले १८ वर्ष भन्दा मुनी उमेर समुहका महिलालाई नाबालिग पुष्टि गरेको छ । अभिवक्ता अरुण पौडेल नाबालिगको परिभाषा नबुझेकाले सामाजिक सञ्जालमा जे पनि लेख्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘नाबालिग भन्ने वित्तिकै के सही र के गलत भन्ने छुट्याउन नसक्ने उमेर भनेर संविधानले परिभाषित गरेको छ । यो उमेरका महिलाहरु राजी खुसी यौन कार्यमा सहभागी भए भने पनि उमेर पुगेको पुरुषले सही र गलत छुट्याउन सक्नु पर्छ । यदि त्यसो गरिएको पाइएन भने पुरुषले बलात्कार गरेको ठहर गर्छ ।’ उनले सामाजिक सञ्जालमा भनेजस्तो दिनभरी किने घुमेको ? किन केटाले बोलाएको ठाउँमा गएको ? केटीमान्छे पनि यस्तै हुन्छन् लगायतका विषयहरु बोल्न उचित नुहुने बताए । संविधानले नै के गलत के सहीभनेर छुट्याउन नसक्ने उमेर भनेर परिभाषित गरेपछि यस्ता प्रश्नहरु सोधिरहनु आवश्यक नभएको पौडेलको भनाइ छ। पीडितले भनेजस्तै लामिछानेले गरेका हुन् भने उनीमाथी स्वभाविक कानून आकर्षित हुने पौडेलको भनाइ छ । लामिछाने उमेर पुगेको र पीडितको उमेर १८ वर्ष भन्दा कम भएकाले कानूनले उनलाई दोषी ठान्ने उनको भनाइ छ। उनीमाथीको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्ने पौडेल बताउँछन् । उनले भने, ‘मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ।’ उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको अभिवक्ता पौडेलको भनाइ छ।  पौडेलका अनुसार पीडित नाबालिगले अहिलेसम्म दिएको बयानलाई आधार मान्ने हो भने यसमा मुलुकी अपराध संहिता २०७४ को दफा २५५ मा उल्लेखित बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुन्छ। ‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविकरुपमा एकान्तमा लगे, यौनसम्बन्धी अंग छोए वा अन्य कुनै यौन्जन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग हुन्छ’ पौडेलले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै