नेभिगेशन
जीवनयापन

महारानी एलिजाबेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता : राष्ट्रपति भण्डारी

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाएकी छन् । उनले महारानी एलिजाबेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता भएको बताएकी छन् । काठमाडौंस्थित बेलायती राजदूतावासमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनबाट मलाई अत्यन्तै दु:ख लागेको छ । नेपाली जनता, नेपाल सरकार तथा म स्वयंको तर्फबाट दिवंगत महारानीप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै महाराज चार्ल्स तृतीय, शाही परिवार, बेलायत सरकार र मैत्रीपूर्ण बेलायती जनताप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’’ शोकको यस दु:खद घडीमा नेपाली जनता तथा नेपाल सरकारको सहानुभूति र साथ तपाईंहरूसँग रहेको पनि राष्ट्रपतिको शोक सन्देशमा उल्लेख छ । राष्ट्रपति भण्डारीले महारानीको निधनबाट बेलायतले आफ्नो समर्पित अभिभावक र नेपालले एक पुरानो मित्र तथा शुभचिन्तक गुमाएको उल्लेख गरेकी छन्। सन्दशेमा राष्ट्रपतिले भनेकी छन्, ‘‘महारानी एलिजाबेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता हुनुहुन्थ्यो । उहाँले सन् १९६० र १९८६ मा गरेको नेपाल भ्रमणको सम्झना नेपाली जनताले सदैव गरिरहनेछन् ।’’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै