नेभिगेशन
जीवनयापन

ताप्लेजुङमा एक हजार पाँच सय मतदाताको नाम हटाइयो

ताप्लेजुङ– ताप्लेजुङमा मतदाता नामावली अद्यावधिकको क्रममा एक हजार पाँच सय जनाको नाम हटाइएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार मृत्यु भएका र दोहोरो नाम भएकाहरूको नामावली हटाइएको हो । जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार कुल एक हजार ४९९ जना मतदाताको नामावली हटाइएको छ । उक्त सङ्ख्यामध्ये मृत्यु भएका ९२० जना, दोहोरो नाम भएका ५७४ र दाबी विरोध गरिएका पाँच जनाको नाम हटाइएको खनालले जानकारी दिए । निर्वाचन आयोगले सफ्टवेयरमार्फत अन्तिम नामावलीको गृहकार्य गरिरहेकाले जिल्लाको कुल मतदाता सङ्ख्यामा केही तलमाथि हुनसक्ने पनि उनले बताए । यता नामावली अद्यावधिक पछि जिल्लाको कुल मतदाता सङ्ख्या ८९ हजार ६८० भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाताको यही सङ्ख्याले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । यसअघि गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाको कुल मतदाता सङ्ख्या ९० हजार ६४० थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै