नेभिगेशन
जीवनयापन

ज्येष्ठ नागरिकका विभिन्न पक्षको चित्रण गरिएको पुस्तक ‘पाका मान्छेका कुरा’

काठमाडौँ– प्राडा मुकेशकुमार चालिसेद्वारा लिखित ‘पाका मान्छेका कुरा’ ज्येष्ठ नागरिकका बारेमा लेखिएको पुस्तक सार्वजनिक भएको छ । यो पुस्तक एक कार्यक्रमका बीच अग्रज व्यक्तित्व वरिष्ठ पत्रकार भैरव रिसाल तथा कृष्ण मुरारी गौतम लगायत दश पाका मान्छेद्वारा रसियन कल्चर सेन्टर काठमाडौंमा लोकार्पण गरियो । पाका मान्छेहरूका बीच सम्पन्न उक्त कार्यक्रममा ज्येष्ठ नागरिक अथवा खारिएका मान्छेका विभिन्न पक्षको चित्रण गरिएको यस पुस्तकका बारेमा एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले ज्येष्ठ नागरिक ऐन र त्यसले संरक्षण गरेको पक्षको तुलनात्मक कुराको व्याख्या गरे । पाका मान्छेका कुराको पुस्तकका आन्तरिक पक्षको कुरा गर्दै फित्कौली डटकमका सम्पादक तथा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले कृतिमा ज्येष्ठ नागरिकका विभिन्न पक्षको सबल चित्रण गरिएको कुरा गरे । ज्येष्ठ नागरिक आन्दोलनका अगुवा सिताराम ढकालको प्रसङ्ग उद्धृत गर्दै डिआजी भीम ढकालले ज्येष्ठ नागरिकका हक र हितका कुरामा गरिएका आन्दोलनको चर्चा गरे । बाआमाका सधैँ राम्रो हेरविचार गर्नुपर्छ भन्ने विचार व्यक्त गरे । आफ्ना हजुरबा र हजुरआमाको प्रेरणा र हेरविचारबाट कानुनको अध्ययन गरी अधिवक्ता बनेका प्रज्वलराज ज्ञवालीले हजुरआमाको जीवनवृत्त समेटेर नलिनी नामक पुस्तक लेखेको चर्चा गरे ।  अग्रजका बारेमा मिठासपूर्ण कविता वाचन गर्दै वरिष्ठ कवि रमेश खकुरेलले वृद्धावस्थाकाे चर्चा गरे । पुस्तकका लेखक प्राडा मुकेशकुमार चालिसेले  वृद्ध मानिसका सबै पक्षका चित्रणका साथै आनीबानी र व्यवहारका कुरालाई पुस्तकमा समेटिएको कुरा उल्लेख गरे । पाका मान्छेका कुराले वृद्धाका हक हित र नागरिक अधिकारको संरक्षणको आवाज उठाएको र अस्पताललगायत अन्य क्षेत्रमा ज्येष्ठ नागरिकको उपचार र संरक्षणमा काम गर्नुपर्ने कुरा बताए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले वृद्धावस्थाका समस्या र परिवारले गर्ने सहयोग र माया पाउन सरल बनिदिनु पर्ने प्रसङ्गको चर्चा गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै