ब्रह्माण्डीय मोह
पृथ्वीको रङ्गमञ्चमा
विश्वयुद्धका सुरुवाती दिनदेखि
क्षेप्यास्त्र प्रक्षेपणसम्म आइपुगेको मान्छे
आज आफ्नै रोबोटको परिकल्पनाले
धरापमा पर्ने पो हो कि भन्ने
चिन्ता लाग्छ पृथ्वीलाई ।
यद्यपी,
खोजी गर्दैछे ऊ
एलन मस्क जस्ता मनुवाहरु,
मन पराउँछे ऊ बिज्ञान
र वैज्ञानिक चमत्कार
किनकी,
मान्छेको बिरुवा उम्रेको हेर्नुछ उसलाई
जूनको आँगनमा ।
उता जून भने
अनन्त कालदेखि
पृथ्वीसँगको प्रेममा डुबेको छ ।
साँझ परेपछि,
ऊ आउँछ एउटा सिङ्गो रात बोकेर ।
उसलाई लोभ्याउँछे पृथ्वी,
आफ्ना सुरम्य छटाले
उसको मन पगाल्छे पृथ्वी,
आफ्ना नाममा लेखिएका सौन्दर्य कथाले ।
जूनलाई असाध्यै मनपर्छ साहित्यको नशा
त्यसैले त ऊ पृथ्वीमा आइरहन्छ सधैं ।
जूनको अटोबायोग्राफि पढेर
विचलित बनेको सूर्य
रात खसेर सकिने बेलामा
पृथ्वीको मधूर सङ्गित सुनेर ब्यूँझन्छ ।
भर्खरै बसन्त पोखिएको पृथ्वीमा
उत्ताउलो सूर्यका किरणहरू जताततै चुहिन्छन् ।
सहनशील पृथ्वी चुपचाप सहन्छे ति आगाका मुस्लाहरु ।
बरु,
कहिलेकाहीँ बादलले बिद्रोह गर्छ
त्यो पोल्ने घामसँग र
बर्षाउँछ पानी शितल मिसाएर ।
बादलको यो निःस्वार्थ मनोवृत्तिले
उत्तेजित बनेको सूर्य बिस्तारै ओझेलमा पर्छ ।
ब्रम्हाण्डमा चलेको साहित्यिक बतास भने
सिरसिर सिरसिर चलिरहन्छ यस्तैगरी,
कहिले दिनसँग, कहिले रातसँग
यसरी नै सम्बन्ध गाँसिरहन्छ बतास
पृथ्वीमा मान्छेको अस्तित्व समाप्त नहुञ्जेल ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:३५
प्रतिक्रिया दिनुहोस्