गायनसँगै समाजसेवामा पुष्प
काठमाडौं- अमेरिका गएको १२ वर्षपछि गायक तथा संगीतकार पुष्प गजमेर यतिबेला नेपालमा छन् । गीत संगीतको क्षेत्रमा दुई दशक बढी समय बिताइसकेका गजमेरले अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा संगीत विद्यालय हिमालयन आट्स लेगंगोवेज एण्ड कल्चरल एकेडेमी सञ्चालन गरेका छन् । विगत ८ वर्षदेखि विद्यालय सञ्चालन गर्दै आएका पुष्पको अमेरिकामा पनि गायन र संगीत प्रति उत्तिकै लगाव छ ।
दुई दशक बढी समय संगीतमा बिताएका उनै पुष्पको अतुलनीय योगदानको कदर गर्दै पुष्पलाई नेपाली रत्न सम्मान २०७९ ले सम्मानित गरिएको छ । केही समयअघि राजधानीमा सम्पन्न वुद्धवीर लामा एघारौँ गीतिमय साँझमा उनलाई सम्मान गरिएको हो । पुष्पका अनुसार उनले नाफाकै लागि अमेरिका विद्यालय खोलेका होइनन् । ‘मैले कुनै नाफामुलक हिसाबले यो स्कुल सञ्चालनमा ल्याएको होइन । केवल नेपाली भाषा, संगीत र साहित्य, लगायतका गतिबिधिहरुलाई परवासमा रहँदा पनि निरन्तरना दिनुपर्छ, भावी पुस्ताले हाम्रो भाषा र नेपाली संगीत सिकुन्, निरन्तरता दिउन् भन्ने उद्देश्य हो’, उनले भने ।
पुष्प ६ वर्षदेखि ओहायोमा सरकारी कर्मचारीका रुपमा पनि कार्यरत छन् । उनी मेन्टल हेल्थ डिपार्टमेन्टमा काउन्सलरका रुपमा कार्यरत छन् । नेपालमा नै स्नातक सकेर अमेरिका पुगेका पुष्पले ब्ल्याकहक कलेज इलिनोई र ओहायो राज्यको एक्रोन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनले संगीतमा डिग्री हाँसिल गरेका छन् ।
पुष्पले १२ वर्षपछि नेपाल आएको मौकामा काठमाडौँमा आफ्ना गीतहरु रेकर्ड गराएका छन् । हालै ३ वटा गीतहरु रेकर्ड गराएका उनले सारेगम लिटल च्याम्समा पुगेका फाइनलिस्ट रोशन फुयाल, अविज्ञा घिमिरे र अदित्य विश्वकर्माको आवाजमा नयाँ गीत रेकर्ड गराएका छन् । उनका यी गीतमा अमेरिकामा रहेका पुष्का छोरा अमिरले पनि स्वर भरेका छन् ।
पुष्प झापाको बेलडांगी शिविर र पथरी शिविरमा रहेका भुटानी शरणार्थी बालबालिकाहरुका लागि सहयोगार्थ कार्यक्रम नै लिएर झापा पुगेका छन् । झापामा हिमालयन म्यूजिक एकेडेमी र भुटनिज आर्टिस्ट म्यूजिक एसोसियसन (बामा)सँग मिलेर पुष्पले गरिब, असहाय र निम्न वर्गीय बालबालिकाहरुका लागि निशुल्क संगीत र नृत्यका कक्षाहरु सञ्चालनका लागि ब्यवस्था मिलाइदिएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १५:५४
प्रतिक्रिया दिनुहोस्