नेभिगेशन
जीवनयापन

पोखरामा सत्यमोहन जोशीको नाटक ‘सुनकेशरी’ मञ्चन सुरु

कास्की– पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रवारदेखि नाटक ‘सुनकेशरी’ मञ्चन सुरु भएको छ । कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका हुन् । मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दसौँ ब्याचका प्रशिक्षार्थीहरूको प्रस्तुतिमा तयार भएको नाटक असोज १ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त सो दिउँसो १ बजे मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । एक युवतिले आफ्नो सुन्दरताको कारण भोग्नुपरेका तितामिठा सङ्घर्ष तथा अनुभवहरूको कथालाई नाटकमा बुनिएको छ । यो कथा लेखक जोशीले २०२७ सालमा कर्णालीमा सम्पन्न भएको लोक संस्कृति सर्वेक्षणको क्रममा कथा वस्तुको सङ्कलन गरेका हुन् । जनजिब्रोमा जीवन्त भइरहेको कथालाई जोशीले नाटकीय रूप दिएका हुन्। यो नाटक १० वर्ष अगाडि मण्डला थिएटरले राजन खतिवडाकै निर्देशनमा मञ्चन गरेको थियो । नेपालका अलावा भारत र बङ्गलादेशमा समेत यो नाटक मञ्चन भइसकेको छ । यो नाटक आगामी कार्तिक १८ गतेदेखि मङ्सिर ४ गतेसम्म मण्डला नाटकघर काठमाडौँमा समेत मञ्चन हुनेछ । नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परीक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास गिरी, मिलन कार्की, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जिबजंग क्षेत्री, आर्य सुमन खड्का, रोशन लोहोरुङ राई, सुनिल राई, उज्ज्वल राई, विवेक कटुवाल, नोर्देन ख्यूङ्वा लामा, रक्षा पाण्डे, अनुज्ञा रेग्मी, सविन गिरी, सलिना खत्री, किसम वीर विक्रम थापा, अभिषेक राई, सुनिल खड्का र रोशन अधिकारीको अभिनय हेर्न पाइन्छ । प्रत्यक्ष सङ्गीतमा अङ्कित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठले साथ दिएका छन् । यो नाटकको परिकल्पना तथा निर्देशन राजन खतिवडाले गरेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै