नेभिगेशन
जीवनयापन

समानुपातिकमा २० लाख मत पाउँछौँ : अध्यक्ष नेपाल

चन्द्रौटा- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए । गएको स्थानीय तह निर्वाचनमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आउँदो निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे । उनले देशको विकासका लागि पाँचदलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए । मुस्लिम इत्तेहाद संगठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई संगठन बलियो बनाउन उनले आग्रह गरे । पार्टीका सबै संगठनलाई मजबुत बनाउने दायित्व सबै नेता–कार्यकर्ताको रहेकाले गाउँगाउँमा संगठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिए । उनले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आउँदो निर्वाचनमा अत्यधिक मत पाउने गरी काम गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताए । छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै उनले स्थानीय सरकार, प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताए । उनले मधेस प्रदेशले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरी छोरीलाई शिक्षाको पहुँचमा पुर्‍याउने प्रयास गरेको बताए । उनले मदरसालाई व्यवस्थित गराई सरकारी स्वामित्वमा ल्याउन र हज कमिटी गठनमा आफूले प्रयास गरेको बताए । कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपालको रक्षा गर्न मुस्लिम समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले एकीकरणको समयदेखि हालसम्म मुस्लिम समुदायले देशको रक्षाका लागि गरेको प्रयास प्रशंसनीय रहेको जिकिर गरे । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै