नेभिगेशन
जीवनयापन

पाँचदलीय गठबन्धनबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी

जनकपुरधाम– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी पाँचदलीय गठबन्धनबाट बाहिरिन सक्ने बताएका छन् । शनिबार जनकपुरधाममा पिछडावर्ग महासंघ (ओबिसी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सत्तारुढ गठबन्धनमा जसपालाई सम्मानजनक स्थान नदिइए गठबन्धनबाट बाहिरिन सक्ने बताएका हुन् । काठमाडौंमा गठबन्धनबाट बाहिर गएर जसपा एक्लै चुनाव लड्ने चेतावनी दिएका यादवले जनकपुरधाममा फेरि सोही चेतावनी दोहोर्याएका छन् । उनले गठबन्धनको नाममा आफूहरु आत्मघाती कदम उठाउन बाध्य नरहेको बताए । यादवले भने, ‘जसपाले लोकतन्त्र र संविधानको रक्षाका लागि सडक आन्दोलन गर्यो । आज गठबन्धनमा जसपालाई नै कमजोर बनाउने षड्यन्त्र हुँदै छ । तर, जसपा कुनै पनि हालतमा आत्मघाती निर्णय गर्दैन ।’ मधेसको शक्तिको रुपमा रहेको जसपालाई कमजोर बुझ्ने भुल भइरहेको बताउँदै यादवले जसपालाई कमजोर बुझ्ने भूल कांग्रेस र कम्युनिष्टलाई नगर्न चेतावनी दिएका छन् । उनले मंसिर ४ गते हुन लागेको निर्वाचनमा गठबन्धनको नाउँमा कुनै पनि आत्मघाती कदम नउठाउनेसमेत बताएका छन् । यसअघि अध्यक्ष यादवले ०७२ साल भदौ २५ गते चलु जनकपुर भरु जनकपुर कार्यक्रमअन्तर्गत शहादत दिएका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सहिदहरु सञ्जय चौधरी, दिलीप यादव र नितु यादवको स्मृतिमा जनकपुरधाम उपमहानगरले निर्माण गरेको सहिद गेट पुगेर अध्यक्ष यादवले सहिदको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै