जुम्ला– जनस्वास्थ्य कार्यालय जुम्लाको आव २०७७७८ को तथ्याङ्क अनुसार जुम्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन् ।
आठै तहका ८ सय ६० जना २० वर्षमुनिका बालिकाहरू गर्भवती भएका हुन् ।
२० वर्ष नपुग्दै गर्भ जाँच गराउने किशोरीहरूको सङ्ख्या हेर्दा बालविवाहको अवस्था अझै भयाभव रहेको देखिन्छ । जसमा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी २० वर्ष नपुग्दै आमा बनेको तथ्याङ्क छ ।
पातारासी गाउँपालिकामा १ सय ३४ कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठीचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमामा ७७ जना किशोरी रहेको जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटा बताए ।
उनका अनुसार २० वर्ष नपुगी आमा बनेका ८ सय ६० जना किशोरीबाट जन्मेका मध्ये १ सय ८० बालबालिका कम तौल अर्थात् कुपोषित जन्मिएका छिन् । २० वर्ष माथिका ३ सय ७६ र २० वर्षमुनिका ३० जना किशोरीले गर्भपतन गराएको तथ्याङ्क छ ।
त्यस्तै, हिमा गाउँपालिकाले गत जेठ महिनामा गाउँमै स्वास्थ्य शिविर सञ्चालन गर्यो । उक्त शिविरमा झण्डै ५ सय जनाले स्वास्थ्य जाँच गराएका थिए । जस मध्य १ सय २६ जना महिलामा पाठेघर क्यान्सर, सेतो पानी बग्ने समस्या देखिएको छ ।
भदौ २३ गते सर्वोदय नेपालको आयोजनामा तातोपानीमा पाठेघर परीक्षण सम्बन्धी शिविर सञ्चालन भयो । शिविरमा १ सय ७ महिनाको स्वास्थ्य परीक्षण गर्दा ४ जना महिलाको पिसाब थैली खसेको र ३ जना महिलाको पुरै पाठेघर खसेको भेटिएको छ । उनीहरुलाई कर्णाली प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ । भने अन्य महिलाको पाठेघरको मुख चिलाउने, सेतो पानी बग्ने समस्या विकराल नै छ ।
सर्वोदयले नै भदौ १८ मा पातारासीमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा १ सय ६७ जना महिलाको स्वास्थ्य परिक्षण गरिएकोमा अधिकांशको पाठेघरमा नै समस्या देखिएको थियो ।
यसरी तथ्याङ्कलाई हेर्दा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा बढी चेतना नभएकै कारण ग्रामीण महिला जोखिममा रहेका छन् । २० वर्ष नपुगी आमा बन्नु, पाठेघर क्यान्सर बढ्नु, सेतो पानी बग्नु, पाठेघरको मुख चिलाउनुलगायत स्त्री रोग सम्बन्धी जति पनि समस्या बढ्नुको एक मात्र कारण ‘यौन तथा प्रजनन स्वास्थ्य’ को शिक्षा नहुनु रहेको देखिन्छ ।
दूर दराजका महिलामा बढी बच्चा जन्माउँदा, जन्मान्तर सही समयमा नगर्दा, बालविवाह गर्दा, विभिन्न किसिमका औषधी सेवन गर्दा र असुरक्षित गर्भपतन गराउँदा प्रजनन स्वास्थ्यमा पर्ने असरका बारेमा शिक्षा नभएकै कारण समयको विकाससँगै सचेतनाको अभावका कारण यहाँका महिलाहरू जोखिममा रहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक रमेशराज उपाध्याय भन्छन्, “शिक्षाकै अभावले यहाँका महिलाहरूको प्रजनन स्वास्थ्य खस्किँदो अवस्थामा छ । छोरा जन्माउनै पर्ने बाध्यता, प्रविधिको दुरुपयोग,ख किशोरीले आफै निर्णय लिन नसक्नु र समग्रमा उमेर नपुग्दै गरिने विवाह र त्यसपछिका परिणामले प्रजनन स्वास्थ्यमा पार्ने प्रतिकुल असरबारे थाहा नभएकै कारण गाउँका महिला विभिन्न स्त्री रोगबाट ग्रसित हुन बाध्य छन् ।”
शारीरिक, मानसिक र प्रजनन स्वास्थ्यका हिसाबले परिपक्व नभई विवाह, गर्भधारण गर्न नहुने कुरामा महिलालाई बढी सचेत बनाउनुपर्नेमा उनको जोड छ ।
समुदाय स्तरमा यौन प्रजनन स्वास्थ्यका बारेमा धेरै कार्यक्रम नहुनु र प्रजनन स्वास्थ्यका बारेमा खुलेर विचार विमर्श पनि नहुँदा समस्या निम्तिएको छ ।
“जति पनि किशोरी २० वर्ष नपुगी आमा बन्छन्, पाठेघरको समस्याबाट ग्रसित छन् । ती सबै महिला यौन तथा प्रजनन स्वास्थ्यबारे अझै अनविज्ञ र अशिक्षित छन् ”, सहप्राध्यापक उपाध्यायले भने ।
चेतना अभिवृद्धिमा जोड
महिलालाई स्वस्थ, सक्षम र सबल बनाउनका लागि गाउँ गाउँमा प्रजनन स्वास्थ्यका बारेमा चेतना अभिवृद्धि गर्नुको विकल्प छैन । महिलालाई बच्चा उत्पादनको मेसिन सम्झिने प्रवृत्ति अहिले पनि विद्यमान छ ।
महिलाले निर्णय लिन नसक्ने र निर्णय गर्न नदिने पुरुष हाबी सोच यथावतै छ । जसका कारण छोरा पाउनका लागि आफ्नो प्रजनन स्वास्थ्यको प्रवाह नगरी दर्जनौँ छोरी जन्माउन कर्णालीका अधिकांश महिला बाध्य छन् ।
क्याड नेपाल जुम्लाका कार्यक्रम संयोजक गिरीराज अधिकारीले बालविवाह गर्दा धेरै बच्चा जन्माउँदा, असुरक्षित गर्भपतन गर्दा, विभिन्न औषधी सेवन गर्दा प्रजनन स्वास्थ्यमा पर्ने असरका बारेमा समुदाय स्तरमा महिलाको चेतना अभिवृद्धि र क्षमता विकासमा जोड दिनुपर्ने बताए ।
प्रजनन स्वास्थ्यका बारेमा स्थानीय सरकारलाई बढी जबाफदेही बनाउने गरी सबै सरोकारवालाको साझा पहल हुनुपर्ने उनको जोड छ ।
यद्यपि क्याडले विगत वर्षौँदेखि बाल विवाह, छुई प्रथा न्युनिकरण, बाल संरक्षण, किशोरी किशोरीको नेतृत्व विकासका लागि विभिन्न काम गर्दै आएको छ ।
यसैबीच क्याडको आयोजनामा आइतबार यौन तथा प्रजनन स्वास्थ्यबारे जुम्लामा पत्रकारहरूसँग अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रियाबाट प्रजनन स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई ध्यानाकर्षण गराउने, समुदाय स्तरमा जनचेतना फैलाउने, प्रविधिको दुरुपयोग गर्न पहल गरिने निष्कर्ष निकालिएको छ ।
पत्रकार महासङ्घका उपाध्यक्ष दिलमाया शाहीले निर्णय र नेतृत्वमा महिलाको सहभागिता न्यून भएकै कारण प्रजनन स्वास्थ्यको प्रवाह नगरी महिला बच्चा जन्माउन साधन जस्तै बन्न बाध्य भएको बताइन् ।
उनले भनिन्, “गैससहरुले अब नतिजा निकाल्ने गरी काम गर्नुपर्छ । स्थानीय तहले पनि महिला केन्द्रित कार्यक्रममा जोड दिनपर्छ । मिडिया, नागरिक अगुवा, बाल क्लबले चेतना विस्तार, परामर्श र क्षमता विकासमा जोड दिनु आवश्यक छ ।”
प्रजनन स्वास्थ्यबारे शिक्षा नभएको र महिला भएकै कारण महिलाले पिल्स खानु पर्ने, डिपो, ७२ घण्टे सुई लगाउनुपर्ने, नरप्लान्ट, कपटी राख्नुपर्ने र विभिन्नै औषधी सेवन गर्नुपर्ने जस्ता बाध्यता महिलालाई छ ।
यसको न्युनिकरणका लागि स्थानीय तह, स्वास्थ्यसँग सम्बन्धित काम गर्ने गैससलगायत, महिला स्वयंसेविका, क्लबहरू एकजुट भएर समुदाय शक्तिकरण र महिलाको चेतना विकासमा जुट्नु पर्ने आवश्यक छ ।
प्रकाशित मिति:
बिहीबार, मंसिर १, २०७९