प्रशिक्षक अलमुताइरीको राजीनामा दिने घोषणा
काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गरेका छन् । अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘‘नेपाल आएको पाँच सय २५ दिनपछि टिमको जिम्मेवारी छोड्ने निर्णय गरेको छु । यस अवधिमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु । खुसी, माया, दु:ख र पीडाविनाको यस यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद । एक टिम जय नेपाल ।’’
उनी कतार फुटबल सङ्घको सहयोगमा नेपालको प्रशिक्षक बनेका हुन् । अलमुताइरीले यसअघि पनि सामाजिक सञ्चालनमा टिम छाडेको घोषणा गर्ने गर्थे। पछिल्लो समय आफ्नै देश कुवेतमा बस्दै आएका अलमुताइरीको राजीनामाको विषयमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कुनै जानकारी दिएको छैन ।
एन्फाले अलमुताइरीलाई सन् २०२४ सम्म नेपाली फुटबल टोलीको प्रशिक्षकमा अनुबन्ध गरेको थियो । तर पटक पटक विवादमा पर्दै आएका प्रशिक्षक अलमुताइरी एन्फाको नयाँ नेतृत्वसँग रुष्ट छन् । सोही कारण अहिलको एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेर राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:०५
प्रतिक्रिया दिनुहोस्