नेभिगेशन
जीवनयापन

कांग्रेस मधेस प्रदेशले अमरेश सिंहको नाम नराखी बुझायो प्रतिवेदन

काठमाडौँ– नेपाली काँग्रेस मधेस प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार सर्लाही–४ बाट महामन्त्री गगनकुमार थापाको नामसमेत सिफारिस गरेको काँग्रेस मधेस प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । उक्त क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए । तर, गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा अनुशासनको कारबाहीमा परेपछि क्षेत्र र जिल्लाले सिंहको नाम काटेर महामन्त्री थापाको नाम सिफारिस गरेको थियो । क्षेत्र र जिल्लाकै सिफारिसलाई अनुमोदन गर्दै प्रदेशले पनि सर्लाही–४ का लागि थापाकै नाम सिफारिस गरेको उपसभापति सिंहले जानकारी दिए । २०७० र २०७४ मा निर्वाचित भएका सिंहको नाम यसपटक अनुशासनको कारबाहीमा परेपछि काटिएको हो । कांग्रेस मधेस प्रदेशले शनिबार आफ्नो प्रदेशको उम्मेदवारको नामसहित केन्द्रीय कार्यसमितिलाई बुझाएको प्रतिवेदनमा सिंहको नाम कुनै पनि क्षेत्रबाट सिफारिस नगरेको उपसभापति सिंहले बताए । क्षेत्र र जिल्लाले आफ्नो नाम सिफारिस नगरेपछि सिंहले प्रदेशमा निवेदन दिएका थिए । सर्लाही–४ बाट आफू निर्वाचित हुँदै आएको र अहिले पनि आफ्नो नाम सिफारिस गर्नुपर्ने भन्दै अमरेशकुमार सिंहले निवेदन दिएको उपसभापति सिंहले बताए । तर, उनको निवेदनमाथि कुनै कारबाही नगरिएको उनले जानकारी दिए । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा काँग्रेस सर्लाहीले अमरेशकुमार सिंहलाई अनुशासनको कारबाही गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै