सेमिफाइनल पुग्न श्रीलंकासँग खेल्दै नेपाल
काठमाडौं– छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा सेमिफाइनल पुग्नका लागि नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली र श्रीलंकाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४–० अन्तरले पराजित गरेको थियो । पहिलो खेल जितेका कारण नेपाल श्रीलंकासँग दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ ।
समूह ‘बी’ को नेपालले १ खेलमा ३ अंक जोडेको छ। श्रीलंकालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ।
श्रीलंका पहिलो जितको खोजीमा रहेको छ। सेमिफाइनलमा पुग्न श्रीलंकालाई फराकिलो जितको आवश्यकता छ। पहिलो खेलमा श्रीलंकालाई भुटानले ५–० गोल अन्तरले हराएको थियो ।
यस समूहमा भुटान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। १ खेलमा अंक विहीन श्रीलंका समूहको अन्तिममा रहेको छ।
यदि श्रीलंका नेपालसँग पराजित भएको खण्डमा भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ।
समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ। माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५३
प्रतिक्रिया दिनुहोस्