मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा छ : शेखर गोल्छा
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । आइतवार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले सो बताएका हुन् ।
लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको र अहिलेको अर्थतन्त्रको अवस्थालाई दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने आवश्यक रहेको गोल्छाको भनाइ छ ।
अध्यक्ष गोल्छाले भने, ‘‘नेपालको अहिलेका आर्थिक स्थिति वा सूचकहरु चिन्ता लाग्दो अवस्थामा रहेको छ । विगतमा पनि अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका थियौं । पछिल्लो अवस्था पनि चिन्ता लाग्दो अवस्था नै छ । अहिलको अर्थतन्त्रमा देखिको समस्याको समाधान दीर्घकालिन मात्रै हुनसक्छ ।’’
अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या आधारभूत भएको औंल्याउँदै अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने बताए । उद्योग व्यवसायहरु फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने उनको भनाइ छ ।
उनले भने, ‘‘आधारभूत समस्यामा आएका छौं । अर्थतन्त्रमा देखिको समस्याबाट बाहिर आउनको लागि केही महिना लाग्छ । उद्योग व्यवसायहरु चलेपछि मात्रै विज्ञापन व्यवसाय बढ्ने हो । उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई पनि फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्नेछ । जति उद्योग व्यवसाय फस्टाएर मुलुक समृद्धितर्फ जानसक्यो भने विज्ञापन बढ्ने कुरामा दुई मत छैन ।’’
उनले अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा पर्ने बताए । अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो विस्तार हुन नसकेको जानकारी उनले दिए ।
अध्यक्ष गोल्छाले भने, ‘‘अर्थतन्त्र संकुचन हुने अहिलको अवस्था रहेको छ । उद्योग व्यवसाय र विज्ञापन व्यवसाय पनि संकुचनमा रहेको छ । कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो विस्तार हुन सकेको छैन ।’’
अध्यक्ष गोल्छाले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताए । नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको छ । उनले कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरु दर्ता भएको पनि बताए । विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको अध्यक्ष गोल्छाको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:५५
प्रतिक्रिया दिनुहोस्