Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्माण भएको दुई महिना नबित्दै पुल भत्कियो

बुधबार, मंसिर ७, २०७९
वीरगंज– संसदीय विकास कोषबाट वीरगंज महानगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ को अन्त्य तिर निर्माण गरिएको पुल दुई महिना नपुग्दै भत्किएको छ । वीरगंज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा २५ लाख रुपैयाँको लागतमा बनाइएको कल्भर्ट पुल दुई महिना पनि नबित्दै भत्किएको हो । गुणस्तरहीन सामग्री प्रयोग गरी बनाइएको पुल सामान्य बाढी समेत थेग्न नसकी भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र उपभोक्ता समिति मार्फत असार महिनामा बजेट सक्न पुल निर्माण गर्दा समस्या भएको स्थानीयवासीको आरोप छ । तत्कालीन समयमै गुणस्तरहीन कल्भर्ट निर्माण भएको भन्दै स्थानीयवासीले विरोध समेत गरेको वीरगंज महानगरपालिका वडा नम्बर ३० निवासी जमुना साहले बताइन् । मधेस प्रदेशकी प्रदेश सभा सदस्य भीमा यादवको संसदीय विकास कोषको २५ लाख रुपैयाँको लागतमा सो पुल निर्माण गरिएको थियो । उपभोक्ता समितिले पुल पुरै निर्माण गर्न नसक्दा २५ लाख मध्ये १४ लाख रुपैयाँ मात्रै भुक्तानी पाएको थियो । गुणस्तरहीन पुल निर्माण गरेपनि समितिले नेताहरूको पहुँचका कारण भुक्तानी पाउन सफल भएको स्थानीयको आरोप छ । पुल निर्माण भएको दुई महिना नबित्दै भत्किएको बारेमा प्रदेश सभा सदस्य भीमा यादवले निर्माण कार्य आफूले गरेको नभई उपभोक्ता समिति मार्फत इन्जिनियरले गरेको हुँदा गुणस्तरका बारेमा इन्जिनियर नै जबाफदेही हुनु पर्ने बताइन् । यसैबीच पुल निर्माण अझै अधुरो भएको भन्दै प्रदेश सभा सदस्य यादवले आर्थिक वर्ष २०७९/८० मा सोही पुल बनाउन थप बजेट दिने दाबी समेत गरे।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:२७
प्रतिक्रिया दिनुहोस्