नेभिगेशन
जीवनयापन

चिनियाँ नेता लीको सम्मानमा सभामुख सापकोटाले दिए रात्रिभोज

काठमाडौँ– संघीय संसद्का सभामुख अग्‍नि सापकोटाले नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुको सम्मानमा रात्रिभोज आयोजना गरेका छन्। सभामुख सापकोटाले सोमबार साँझ रात्रिभोज आयोजना गरेका हुन्। काठमाडौँमा आयोजित रात्रिभोजमा सभामुख सापकोटाले संघीय संसद्को नेतृत्वको आमन्त्रणमा नेपाल भ्रमण गरेकोमा अध्यक्ष लीप्रति आभार प्रकट गरे। उनले यस्तो उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्‍ने र जनता जनताबीचको सम्बन्धमासमेत नयाँ आयाम विस्तार हुने विश्‍वास व्यक्त गरे। चिनियाँ जनकंग्रेसको अध्यक्षका रूपमा नेपाल भ्रमण गर्ने आफू नै पहिलो व्यक्ति भएको भन्दै लीले नेपालले गरेको आमन्त्रण र स्वागतप्रति धन्यवाद व्यक्त गरे। नेपालका तर्फबाट आफूले पाएको न्यानो स्वागत र आथित्यताप्रति उनले कृतज्ञता व्यक्त गरे। रात्रिभोजमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, संघीय सांसद्का सांसदहरू, परराष्ट्र मन्त्रालयका अधिकारी संघीय संसद् सचिवालयका महासचिव एवम् कर्मचारी, तथा अन्यको सहभागिता छ। यसअघि सभामुख सापकोटा र अध्यक्ष लीबीच संघीय संसद् भवन नयाँ वानेश्‍वरमा छ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। सभामुख सापकोटा र अध्यक्ष लीबीच भेटवार्ता सकिएपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको छ। भेटवार्ताका क्रममा सभामुख सापकोटाले नेपालको आर्थिक विकासमा चीन सरकार र चिनियाँ जनताका तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै