नेभिगेशन
जीवनयापन

सिट बाँडफाँडमा अझै जुटेन सहमति, पहिले समानुपातिक तर्फ सिट बाँडफाँडबारे छलफल गर्ने

काठमाडौँ– सत्तारुढ गठबन्धन सिट बाँडफाँडबारे सहमति जुटाउन असफल भएका छन् । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुङ्गो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बाँडफाँडबारे छलफल गर्ने सहमति भएको छ । प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि गठबन्धनमा रहेका दलहरू निरन्तर छलफलमा जुटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको संयुक्त र द्विपक्षीय छलफल भएको थियो । सिट बाँडफाँडमा शीर्ष नेताहरू लचिला पनि देखिएका छन्, तर सहमति जुटेको छैन । कार्यदलका सदस्यहरूका अनुसार काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धन गर्ने पक्षमा छन् । माओवादी केन्द्रलाई कुनै हालतमा साथमा राख्नुपर्छ भन्नेमा सचेत उनी एकीकृत समाजवादीलाई धोका दिने पक्षमा छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यो गठबन्धन तोड्ने पक्षमा छैनन् । तर उनीहरू पार्टीका नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने चर्को दबाबमा देखिएका कार्यदलका अर्का एक सदस्यले बताए । गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका नेताहरूमा भने अरू दलले आफूलाई अलमल्याउने काम मात्र गरेका त होइनन् भन्ने आशङ्का देखिन थालेको छ । यद्यपि सिट बाँडफाँडमा निरन्तर छलफल भइरहेको छ । करिव १०० आसपासको सिटमा सहमति पनि जुटेको देखिन्छ । कार्यदलका एक सदस्यका अनुसार ६०–६५ सिटमा काँग्रेस, २०–२२ सिटमा माओवादी ८–९ मा एकीकृत समाजवादी ५–७ सिटमा जसपाको नाममा लगभग सहमति जुटेको छ । बाँकी क्षेत्रमा दुई वा दुईभन्दा बढी दलको दाबी छ । यस्ता क्षेत्रमा सहमति खोज्दा दलहरूबिच छुट्टा–छुट्टै छलफल भएपनि सहमति नजुटेको नेताहरू बताउँछन् । असोज २ र ३ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूची बुझाउनुपर्ने भएकाले अब त्यतातिर छलफल गर्ने नेताहरू बताउँछन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै