नेभिगेशन
जीवनयापन

राजनीतिक नेतृत्व हस्तान्तरण आवश्यक छ : राजेन्द्र लिङ्देन

म्याग्दी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक नेतृत्व हस्तान्तरण बिना परिवर्तन र विकास सम्भव नभएको टिप्पणी गरेका छन्। राप्रपाले आज बेनीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले नेपालको अवस्था र व्यवस्थामा परिवर्तन गर्न नेतृत्व हस्तान्तरण प्रमुख राजनीतिक मुद्दा बनाउनुपर्ने बताए । “धेरै पटक अवसर पाइसकेका र परीक्षण भइसकेका नेतृत्वबाट देशको समस्या समाधानको सम्भावना छैन”, उनले भने, “पुराना नेतृत्वसँग सुध्रने र सक्किने मात्र विकल्प बाँकी छ । असफल नेतृत्वलाई अवसर दिँदा नागरिकले दु:ख पाएका हुन् ।” राप्रपाको पछिल्लो महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको थिति बसाएको बताउँदै लिङ्देनले गत स्थानीय तह चुनावमा धरान र काठमाडौँका नागरिकले ठूला दलको विकल्प रोजेर सच्चिने सन्देश दिएका बताए । कार्यक्रममा राप्रपाका नेता भीमप्रसाद गौचन, जगतप्रसाद गौचनलगायतले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको व्यवस्था, पहिचानका लागि धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै