Nic Ad Nic Ad
Nic Ad Nic Ad

छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण

शुक्रबार, मंसिर ९, २०७९
महोत्तरी–माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ । छोरी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित राम माध्यमिक विद्यालयमा अध्ययनरत ती छात्रालाई साइकल प्रदान गरिएको हो । नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ मा नामाङ्कन गराएर अध्ययन गर्ने छात्रालाई विसं २०७६ देखि नै साइकल प्रदान गर्दै आएको छ । नगरप्रमुख हरिप्रसाद मण्डलले साइकल प्रदान गर्दै साइकलले छात्राहरूमा आत्मविश्वास बढाउने र पढाइमा उत्प्रेरित बताए । उनले भने, ‘यो कार्य महिला सशक्तीकरणकै एक महत्वपूर्ण पाटो हो ।’ साइकल पाएपछि छात्राको विद्यालय उपस्थितिमा नियमितता बढेको विद्यालयका शिक्षक श्रीष मिश्रले बताए । ‘साइकल पाएका छात्रा हम्मेसी विद्यालय आउन छुटाउँदैनन्’, उनले भने, ‘पढाइमा पनि छात्राले मेहेनत बढाएका छन् ।’ मटिहानी नगरपालिका भए पनि अधिकांश ग्रामीण परिवेशका बस्ती छन् । यहाँका विद्यालयमा पढ्ने छात्रा अधिकांश दलित, जनजाति समुदायका गरिब परिवारका छन् । यिनीहरूका लागि पठनपाठनमा साइकल निकै सहयोगी बनेको अभिभावकहरूको भनाइ छ । ‘छोरीहरू किशोरवयमै घरमा आमाको काममा सहयोगी पनि हुन्छन्, साइकलले छोरीहरूलाई घरको काम र विद्यालय आवतजावतको समय व्यवस्थापनमा पनि सहयोग पुर्‍याएको देखिन्छ’, मटिहानी–८ का बासिन्दा स्थानीय व्यापारी विजयकुमार साह भने, ‘अर्को महत्वपूर्ण पक्षचाहिँ छोरीले ‘हामै्र पढाइका लागि यो प्रबन्ध गरिएको’ भन्ने कुरा बुझ्दैछन् जस्तो लाग्दैछ ।’ छोरीहरूको पढाइ र विद्यालयप्रतिको लगाव बढाउन अन्य शैक्षिक सामग्री, पोशाक र अतिरिक्त कक्षाको समेत व्यवस्था गर्न सके उच्च शिक्षासम्म छात्राको सङ्ख्या बढाउन सहयोग पुग्ने मटिहानीका अभिभावकको धारणा पाइन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्