मोरङका ३६ घर परिवारलाई लालपूर्जा वितरण
काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपूर्जा वितरण गरेकी छन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङमार्फत कानेपोखरी गाउँपालिकाको वडा नं ६ का २७ भूमिहीन सुकुम्वासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गरेकी हुन्।
मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँ ब्लक, पुन: नापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँ ब्लकमा लालपूर्जा वितरण गरिसक्ने गरी काम तीव्र पारिएको भन्दै दुई वर्षभित्र भूमिसम्बन्धी सबै खालका समस्या समाधान गरिसक्ने प्रतिबद्धता पुरा गरिछाड्ने बताइन् ।
मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने पनि बताइन् ।
मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा गरिब पहिचान गर्ने र पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र दिने र राज्य सुविधा परिचय पत्रलाई संविधानमा नै लिपिबद्ध भएको गरिब तथा विपन्न लक्षित सेवा सुविधासँग आबद्ध गर्ने काम अगाडी बढाइएको बताइन् ।
भएका स्रोत र साधनको समुचित प्रयोग गरी कृषि योग्य भूमिको उत्पादन र उत्पादकत्व बढाई सहकारी मार्फत आयात प्रतिस्थापन गर्ने र सम्भव भएसम्म निर्यातलाई प्रवद्र्धन गरेर देशमा रोजगारी सिर्जना गरेर गरिबी निवारण गर्ने गरी योजनाबद्ध रुपमा काम गरिरहेको पनि उनले बताइन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०७
प्रतिक्रिया दिनुहोस्