नवौं राष्ट्रिय खेलकुदका लागि असोज ८ देखि नेपालगञ्जमा छनोट प्रतियोगिता
नेपालगञ्ज– पोखरामा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता बाँकेको नेपालगन्जमा असोज ८ गतेदेखि १२ गतेसम्म आयोजना गरिने भएको छ ।
मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दका अनुसार असोज ८ गते बास्केट बल छनोट प्रतियोगिता हुने भएको छ । ८ र ९ बक्सिङ तथा भारोत्तोलन एवम् १० र ११ गते जुडो, सुटिङ, हक्की (महिला र पुरुष) र साइक्लिङ प्रतियोगिता हुने भएको छ ।
सोही प्रकारले असोज पौडी र जिम्न्यास्टिक तथा ११–१२ असोजमा कुस्ती र उसु छनोट प्रतियोगिता आयोजना गरिएको चन्दले बताए ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको नेपालगन्जमा खेल पूर्वाधार धेरै भएकाले अधिकांश खेलको छनोट प्रतियोगिता नेपालगन्जमा राखिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापाले बताए।
उनले सोका लागि अहिले प्रदेश भर खेलाडीहरू अभ्यास र तयारीमा व्यस्त रहेको बताउनुभयो । छनोट प्रतियोगिताका लागि सम्पूर्ण व्यवस्था मिलाइएको समेत सदस्य थापाले बताए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:५३
प्रतिक्रिया दिनुहोस्