Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुटवलमा बन्ने सिग्नेचर पुलको डिजाइन तयार

शुक्रबार, मंसिर ९, २०७९
बुटवल– बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भएको छ । भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनि टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको हो । पुलको डिजाइन तयार पारेको नेपाली र विदेशी इन्जिनियरले बुटवलका जनप्रतिनिधिसँग छलफल गरेका छन् । सिग्नेचर पुल सामान्य पुलजस्तै मोटरेबल भए पनि नयाँ प्रविधिबाट निर्माण हुने पुल हो । झट्ट देख्दा नेटवर्क आर्क व्रिजजस्तै देखिने भए पनि यो आर्क व्रिजभन्दा अझ आकर्षक हुन्छ । मानिसले सिग्नेचर गर्दा जसरी अक्षरलाई घुमाएर बाङ्गोटिङ्गो बनाउँछन् सिग्नेचर व्रिजको डिजाइन पनि त्यही प्रकृतिको हुन्छ । पुल चार लेनको बन्नेगरी डिजाइन तयार भएको छ । प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ । पैदल यात्रुका लागि हिड्ने फराकिलो फुटपाथ रहने छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले चिनियाँ, भारतीय, स्वीस र नेपालका पुल विज्ञसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भइसकेको बताए । डिजाइनअनुसार पुल निर्माण प्रक्रिया अघि बढाउन विश्व बैंकका प्रतिनिधिसँग छलफल गरेको उनले बताए । पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासक क्षेत्रको बस्तीलाई के गर्ने भन्ने विषयमा थप अध्ययन गरेर निर्णय गरिने उनको भनाई छ । बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले मंगलवर बुटवलका जनप्रतिनिधि र सरोकारवालासँग पुलको आर्किटेक डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बिषयमा छलफल गरेका छन् । पाण्डेले यो पुल निर्माणबाट बुटवलको जितगढी किल्ला, युद्ध संग्रहालय, बुटवलको पुरानो बस्ती, मन्दिर र मस्जिदका बीचमा समेत मैत्रीभाव राख्ने सन्देश दिनेगरी पुल बन्ने बताए । पुल निर्माणसँगै पुलको वारीपारी चेक ड्याम बनाएर तलाउ बनाइने र नदी किनारमा आरती गर्ने, रात्रीकालीन बजारमा रमाउनेगरी लाइटिङ गरिने पाण्डेले जानकारी दिए । छलफलका क्रममा विश्व बैंकका दक्षिण एशिया शहरी विकास इकाइका वरिष्ठ शहरी विकास योजनाकार स्टेफनिया अबकेर्लीले तिनाउमा बन्ने पुल नेपालकै नमूना हुने विश्वास व्यक्त गरे। पुल निर्माण क्षेत्र पर्यटकीय स्थलसँग जोडिएकाले यसले स्थानीय बासिन्दा र स्थानीय सरकारलाई लाभ दिलाउने उनको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:५३
प्रतिक्रिया दिनुहोस्