Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा बाढी पछिको संत्रास

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी दिएका छन् । जुन महिनाको मध्यदेखि सुरु भएको बाढीका कारण हालसम्म करिब १५०० जनाको मृत्यु र ३३ लाख मानिस प्रभावित भएका छन् । देशका विभिन्न भागहरूमा बाढी पीडितको उद्धार र निकासीको प्रयास जारी रहँदा त्यहाँका स्वास्थ्य विज्ञहरूले डेङ्गी, औलो र गम्भीर ग्यास्ट्रिक सङ्क्रमण दर बढेको विवरणहरू दिएका छन् । अधिकांश विस्थापित मानिसहरू जमेको पानीको छेउछाउमा आश्रय लिइरहेका छन्। उनीहरूमध्ये केहीको डेङ्गी ज्वरोका कारण मृत्यु भइसकेको छ र हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । दक्षिणी सिन्ध प्रान्तका स्वास्थ्य अधिकारीहरूले करिब ३,८३० मानिसहरूमा डेङ्गीको ज्वरो आएको विवरण पेस गरेका छन् । उनीहरूमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ । तर यो अनुमान मात्र हुन सक्ने चिन्ताहरू व्यक्त गरिएका छन् । ‘समग्रमा सिन्धको अवस्था निकै खराब छ । हामी प्रान्तभरि चिकित्सकीय शिविरहरू सञ्चालन गर्दैछौँ । अहिले प्राय डेङ्गीका बिरामीहरू देखिएका छन् र त्यसपछि औलोको बिरामीको सङ्ख्या उच्च छ’, पाकिस्तान मेडिकल एसोसिएसनका महासचिव डा. अब्दुल गफूर शोरोले बीबीसीसँग भने । ‘हामीले प्रयोगशालाहरूमा अनुगमन गर्दा करिब ८० प्रतिशत परीक्षण शङ्कास्पद बिरामीको भइरहेको छ’, उनले भने । कराचीको आगा खान अस्पतालमा डेङ्गीका सयौँ बिरामीहरूको उपचार गरिरहेका डा. शोरोले आगामी साताहरूमा अवस्था झनै खराब हुनसक्ने चिन्ता व्यक्त गरे । बाढी आएको दुई महिनाभन्दा लामो समय बित्दा पनि पाकिस्तानभरि हजारौँ गाउँहरू अझै डुबानमा छन् । जसका कारण असङ्ख्य परिवारहरू विस्थापित भएका छन् । अधिकारीहरुका अनुसार थुप्रै दुर्गम ठाउँहरूमा पानीको कारण भएको क्षतिले सडकहरू प्रयोग गर्न नसकिने भएको र केही समुदायका मानिसहरू आफ्नो स्वास्थ्य जाँच तथा उपचारका लागि अस्थायी घुम्ती स्वास्थ्य शिविरहरूमा भर पर्न बाध्य छन् । ‘बिरामीहरू धेरै छन् र हामी सबैका लागि सक्दो प्रयास गरिरहेका छौँ। तर पनि उनीहरू सबैलाई मद्दत गर्ने क्षमता छैन’, एक वरिष्ठ चिकित्सक खालिद खोसाले भने । डा. खोसा प्रान्तमा रोगको अवस्था मापन गरिरहेका अनुगमन अधिकृत समेत हुन् । उनले रोगको बढ्दो दरका कारण आफू निकै चिन्तित भएको बताए । ‘हामीले सक्दो प्रयास गरिरहेका छौँ। तर मलाई हामी मानवीय प्रकोप नजिक रहेको डर छ । धेरै मानिसहरू डेङ्गी, मलेरिया र ग्यास्ट्रिक समस्याहरूबाट ग्रसित छन् र हामी ती सबैलाई मद्दत गर्न सक्दैनौँ’, उनले भने । ठाउँ जलमग्न नभए पनि त्यहाँ खानेकुरा वा सफा पिउने पानीको अभाव छ । यो अवस्था हरेक दिन भयावह बन्दै गइरहेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले गत साता बाढीग्रस्त क्षेत्रहरूको भ्रमणको क्रममा अवस्थाप्रति चिन्ता व्यक्त गरे । त्यहाँ उनले बाढीमा सबैथोक गुमाएका परिवारहरूलाई भेटेका थिए । उनले पाकिस्तानलाई सहयोग गर्ने विश्वको जिम्मेवारी भएको बताए । उनले धनी राष्ट्रहरूलाई पाकिस्तान जस्ता गरिब देशहरूलाई पीडाबाट बाहिर निस्कन मद्दत गर्न आग्रह गरे । उनले पाकिस्तानले भोगेको विध्वंसकारी बाढीलाई जलवायु परिवर्तनको परिणामका रूपमा व्याख्या गरे । पाकिस्तानका मानिसहरूले विश्वले उनीहरूको पीडा सुन्ने आशा राखेका छन् र क्षमता भएका देशहरूले उनीहरूलाई जीवन पुनर्निर्माण गर्न मद्दत गर्ने अपेक्षा गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:२८
प्रतिक्रिया दिनुहोस्