चाडपर्व नजिकिएसँगै झापामा बजार अनुगमन तीव्र
भद्रपुर– चाडबाड नजिकिएसँगै झापामा बजार अनुगमनलाई तीव्र पारिएको छ ।
चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमनलाई तीव्र पारेको हो ।
यसैक्रममा आज सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको नेतृत्वको टोलीले झापाको प्रमुख व्यापारिक शहर बिर्तामोडको कृषि थोक बजार र बाह्रदशी गाउँपालिकाको राजगढ बजारमा अनुगमन गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, आन्तरिक राजश्व कार्यालय, विर्तामोड नगरपालिका, विर्तामोड उद्योग वाणिज्य संघ, उपभोक्ता सम्बद्ध संघ–संस्थाका प्रतिनिधिहरू समेतको सहभागितामा बिर्तामोडस्थित कृषि थोक बजारमा रहेका माछा मासु पसलको अनुगमन गरिएको गरियो ।
अनुगमन टोलीले माछा–मासुको गुणस्तर, नापतौलका लागि प्रयोग गरिने ढक–तराजु, सरसफाइ र पसल दर्ताका विषयमा समेत निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा केही पसलमा मरेका माछा बिक्री गरिरहेको पाइएकाले त्यस्ता माछा नष्ट गरिएको सहायक प्रजिअ न्यौपानेले जानकारी दिए ।
त्यस्तै, अधिकांश मासु पसल फोहोर रहेको, खुला र झिँगा भन्किरहेको अवस्थामा बिक्री–वितरण गरिरहेको, भारतबाट आयात गरिएका मरेका माछा बिक्री गरिरहेको फेला परेको थियो । उनीहरुलाई मापदण्डअनुसार पसललाई व्यवस्थित गर्न निर्देशन दिइएको सहायक प्रजिअ न्यौपानेले बताए । उनले अनुगमनलाई तीव्रता दिइने बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२४
प्रतिक्रिया दिनुहोस्