इलामको सूर्योदयमा ५० करोडको लगानीमा सडक र बसपार्क बन्ने
पशुपतिनगर – इलामको सूर्योदय नगरपालिकामा एकै दिन पाँचवटा सडक र एउटा बसपार्कको शिलान्यास गरिएको छ।
एकीकृत सहरी विकास कार्यक्रम अन्तरगत सघन सहरी तथा भवन निर्माण आयोजनाको ५० करोड लगानीमा निर्माण हुने सडक र बसपार्कको पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका हुन्।
बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै सूर्योदय नगरपालिकाका विभिन्न वडामा सडक कालोपत्रे गर्न तथा पशुपतिनगरमा बसपार्क निर्माण गरिने सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिए।
आयोजना अन्र्तगत पशुपतिनगरमा ६ रोपनी जमिनमा ३ करोड ७७ लाखको लागतमा बसपार्क निर्माण हुने छ। बहुबर्से आयोजनाका रुपमा संचालन गरिएका सडक अन्र्तगत अन्तुदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बीसे, मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोड अन्र्तगत छिपिटार शान्तिगोलाई गरेर जम्मा २१ किलोमिटर सडक कालोपत्रे हुने सघन सहरी तथा भवन निर्माण विभागका उप महानिर्देशक नारायण भण्डारीले जानकारी दिए।
उनका अनुसार सडक र बसपार्कको बोलपत्र आह्वान भइसकेको छ। उपमहानिर्देशक भण्डारीले चाँडै सम्झौता भएर काम सुरु हुने बताए।
भण्डारीले कार्यालयले देशका ५० नगरपालिकामा ५० र २० करोडका दरका कार्यक्रम संचालन गरिने जानकारी दिए। नगर भित्र यीसहित १० वटा योजना विभागबाट संचालन हुने सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिए। उनका अनुसार अन्तु पोखरी, जोरपोखरी र कन्यामको ब्युटिफिकेशन समेत आयोजना अन्र्तगत गरिने छ।
शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री खनालले अबको केही वर्षमा सहरीकरण बढ्ने भएकाले बेलैमा त्यस तर्फ ध्यान दिन आग्रह गरे। उनले सहरको विकास भए पनि धेरै पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताए।
कार्यक्रममा शहरी विकासमन्त्री मेटमणि चौधरीले एउटा सहर बन्न आवश्यक पर्ने सबै पूर्वधार पर्ने गरी आयोजनाले काम गर्ने जानकारी दिए। उनले देशका विभिन्न स्थानलाई सहरीकरण गर्ने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिए। नगर प्रमुख राईले आयोजनाका काम समयमै सम्पन्न गर्ने गरी नगरले काम थाल्ने जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२४
प्रतिक्रिया दिनुहोस्