Nic Ad Nic Ad
Nic Ad Nic Ad

मतदानस्थल अपाङ्गतामैत्री बनाउन माग

शुक्रबार, मंसिर ९, २०७९
दमक– अपाङ्गता भएकाहरुले झापाका मतदानस्थल अपाङ्गतामैत्री बनाउनु माग गरेका छन् । आफुहरुलाई मतदाताको रुपमा मात्र प्रयोग नगरेर राजनीतिक अधिकार सुनिश्चित्ताका लागि उम्मेदवार छनौटमा समेत प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन् । । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अपाङगता भएकालाई पनि उम्मेदवार बनाउन राजनीतिक दलहरुसँग उनीहरुको आग्रह छ । नेत्रहीन युवा संघ नेपालको आयोजना र संवाद समूह झापाको सहकार्यमा बिर्तामोडमा बिहीबार भएको छलफलमा सो माग गरिएको हो । नेत्रहीन युवा संघ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले अपाङ्गता भएकाहरु राजनीतिक अधिकारबाट बञ्चित हुन नहुने बताए । अपाङ्गता भएकालाई प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाउन राजनीतिक दलले नसकेको जनाउँदै यसमा गम्भीर हुन आग्रह गरे। अपाङ्गता भएकाहरुलाई निर्वाचन स्थलसम्म जान र मतदान गर्न असहज हुने अवस्था आउन नदिन सोहीअनुसारको ब्यवस्थापन हुनुपर्ने जनाउँदै बिगतको कमजोरी सच्याएर जानुपर्ने सुझाव दिए । हामीजस्ताको समस्या ध्यान दिएर मतदानस्थलको ब्यवस्थापन हुनुपर्ने उनको भनाई छ । छलफलमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले अपाङ्गता भएकाबारे संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्ने बताउँदै अपाङ्गतामैत्री निर्वाचन स्थल बनाउन आफुहरु लागिपर्ने प्रतिबद्धता जनाए । मतदान केन्द्रहरु अपाङ्गतामैत्री बनाउने अधिकतम प्रयास हुन्छ, उनले भने । जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले संसदमा अपाङ्गता भएकाहरुको प्रतिनिधित्वबारे स्पष्ट कानुनी व्यवस्था रहेको र सोहीअनुसार राजनीतिक दलले गर्नुपर्ने बताए । राजनीतिक दलहरुले यस बिषयमा गम्भीर हुनुपर्छ र अपाङ्गता भएकाले पनि अवसर पाउने अवस्था आउनुपर्छ उनले भने । नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाई, नेकपा ९एमाले० झापाका सचिवालय सदस्य देवराज कार्की, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी, जनता समाजवादी पार्टीका जिल्ला सहसचिव अर्जुनकुमार राई लगायतले अपाङ्गता भएकाहरुको राजनीतिक अधिकार सुनिश्चित्ताका लागि र अपाङ्गतामैत्री मतदान स्थल बनाउने बिषयमा प्रतिबद्धता जनाए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्