मातृभूमिः एक प्रेरक प्रसङ्ग
त्यो बेला भारतमा अंग्रेजको शासन थियो । धेरै थोरै भारतवासी उच्च सरकारी पदमा नियुक्त थिए । सर गुरु वद्योपाध्याय त्यो बेलामा कलकत्ता हाइकोर्टका न्यायाधीश र कलकत्ता विश्वविद्यालयका कुलपति थिए ।
एकपटक सन्त गुरुदास हाइकोर्टमा बसेर कुनै मुद्दा सुनिरहेका थिए । त्यसै बेलामा एउटी बूढी आइपुगिन् । बूढीले सन्त गुरुदासलाई बाल्यकालमा दूध पिलाएकी थिइन् । उनी उनकी धाई थिइन् । धेरै दिनदेखि उनी कलकत्ता आएकी थिइनन् । यसपटक उनी गंगा स्नान गर्न कलकत्ता आएकी थिइन् । गंगा स्नानपछि उनको मनमा आयो, आफ्नो गुरुदाससँग भेट गर्न जाउँ ।
मानिसहरूलाई सोध्दै उनी हाइकोर्र्ट पुगिन् । गंगा स्नान गरेर उनका लुगा भिजेका थिए । उनको मैलो र भिजेको लुगा देखेर पालेले उनलाई भित्र जान दिएन । उनले हात जोडेर भन्नि ‘हेर भाइ मलाई गुरुदाससँग भेट गर्न देऊ ।’
अचानक सन्त गुरुदासको दृष्टि ढोकामा पुग्यो । उनी न्यायाधीशको आसनबाट तुरुन्त उठे । उनी आएको देखेर पाले एकातिर हट्यो । सन्त गुरुदासले बूढीलाई दण्डवत प्रणाम गरे तब सबै मानिसहरु हेरेको हेर्यै भए ।
गाउँले बूढीलाई के थाहा हाइकोर्ट के हुन्छ, जज के हुन्छ । उनका दुवै आँखाबाट आँसु बग्न थाले । उनले भनिन्, ‘मेरा गुरुदास छोरा, जुगजुग जिउन् ।’
सन्त गुरुदासले सबैलाई भने, ‘यिनी मेरी आमा हुन् । यिनले मलाई बाल्यकालमा दूध खुवाएकी थिइन ।
पछि सन्त गुरुदासले ती बूढीलाई आदरपूर्वक आफ्नो घरमा लिएर गए । त्यहाँ उनले उनको खूब आदर सत्कार गरे ।
यस्ता थिए, गुरुदास । उनको मातृभक्ति सबैको लागि प्रेरणादायक छ ।
साभारः ‘प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:१०
प्रतिक्रिया दिनुहोस्