Nic Ad Nic Ad
Nic Ad Nic Ad

शनिबारदेखि चार देशीय ‘पोखरा आर्ट क्याम्प’

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आजदेखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका झण्डै एक सय कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थितिमा गर्न लागिएको हो । कोरोना महामारीले पर्यटनसहित ललितकलाका कार्यक्रमसमेत नराम्ररी प्रभावित भएको थियो । जसका कारण कला पर्यटन ठप्प हुन पुगेको थियो । अब भने विस्तारै कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापीरूपमा पुर्‍याउने प्रयास थालिएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए । ‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुनेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्बरभूमि तथा हरेक जातिको आफ्नै गौरवपूर्ण भाषा र संस्कृतिको रमणीय स्थान भएको जानकारी दिए । उनका अनुसार आठ हजारमाथिका तीनवटा हिमाल एकसाथ देखिने गण्डकी प्रदेशको राजधानी पोखरा हो । उनले पोखरा आर्ट क्याम्पमार्फत गण्डकीको सुन्दरता विश्वभर पुर्‍याउने अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । ललितकलाको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको आइडब्लुएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ । पछिल्लो कला महोत्सव भने कोरोनाका कारण प्रभावित भएको र उपयुक्त समयमा आयोजना गर्ने जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्