समितिले जबराविरुद्धको महाअभियोग प्रतिवेदन भोलि बुझाउने
काठमाडौँ– प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रतिवेदन शनिबार प्रतिनिधिसभामा बुझाउने तयारी गरेको छ ।
शुक्रबार जबराले आफ्नो बयानको १७४ पृष्ठमध्ये ६५ पेजमा हस्ताक्षर गरेका छन् । महाअभियोग सिफारिस समितिको सचिवालयले उनको बयानको ‘भर्बेटिङ’ उतार्दा १७४ पृष्ठ भएको छ ।
जबराले आफूले दिएको बयानमा हस्ताक्षर गरेर प्रमाणित गर्नुपर्ने भएकाले उनलाई बिहानैदेखि बोलाइएको थियो ।
तर, उनले बयान पढेर सुनाउन आग्रह गर्दै कतिपय भनाइ सच्याउँदै हस्ताक्षर गरिरहेका छन् । त्यसैले उनको बयान प्रमाणित गर्नलाई नै समय लागिरहेको छ ।
“अहिलेसम्म ६५ पेजमा हस्ताक्षर भएको छ । अझै १०९ पेजमा हस्ताक्षर गर्न बाँकी छ,” समिति सदस्य तथा नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले बाह्रखरीसित भने ।
समितिले जबराको भनाइका आधारमा प्रतिवेदन भने अन्तिम चरणमा पुर्याइसकेको छ । जबराले बयान प्रमाणित गरिसकेपश्चात् शनिबार प्रतिवेदन बुझाउने तयारी भएको माओवादी सांसद तथा समिति सदस्य रेखा शर्माले बताइन् ।
“हस्ताक्षर कार्य सम्पन्न गरेर हामी शनिबार प्रतिवेदनमा निष्कर्ष तथा राय लेख्छौँ,” उनले भनिन्, “निष्कर्ष लेख्न समय लाग्दैन । भोलि नै हामी प्रतिवेदन बुझाउने तयारीमा छौँ ।”
समितिको अर्को बैठक शनिबार बिहान ८ बजेका लागि बोलाइएको छ । संसद्को अन्तिम बैठक शनिबार नै बस्ने तय भएको छ । शनिबार रातिदेखि संसद्को कार्यकाल सकिँदैछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:००
प्रतिक्रिया दिनुहोस्