आजदेखि सुपथ पसल सञ्चालन
काठमाडौँ– दशैँ, तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि काठमाडौँ उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालन हुँदै छन् ।
चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र टे«डिङ कर्पाेरेसन र दुग्ध विकास संस्थान (डीडीसी)मार्फत सुपथ पसल सञ्चालन हुँदै छ । यी सरकारी संस्थानले आफ्ना बिक्री केन्द्रमार्फत सुपथ पसल सञ्चालन गर्नेछन् ।
चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको हो । खाद्य कम्पनीका बिक्री प्रमुख भीम थापाले चाडपर्वमा उपभोक्तालाई राहत दिन मुलुकभर ४१ स्थानमा सुपथ पसल सञ्चालन गरिने जानकारी दिए ।
काठमाडौँ उपत्यकाको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा रहेका बिक्री कक्षबाट सुपथ मूल्यमा सामान वितरण गरिने उनले जानकारी दिए । अनलाइनमार्फत सामान वितरण गरिने कम्पनीले जनाएको छ ।
खाद्य कम्पनीका अनुसार चामल, दाल, आँटा, पिठो, पैदा, तेल, चिउरामा प्रतिकेजी सात रुपियाँ छुट दिइएको छ । यस्तै चिनी प्रतिकेजीमा पाँच रुपियाँ र नुन प्रतिकेजीमा दुई रुपियाँ छुट दिएको छ ।
खाद्य कम्पनीले बिक्री गर्दै आएको जुम्लाको सिमी, गेडागुडीमा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ । खसीबोका र च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ ।
यस्तै डीडीसीबाट वितरण हुने घिउमा प्रतिकेजी ५० रुपियाँ, पनिर/चिजमा प्रतिकेजी २० रुपियाँ र दहीमा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ ।
डीडीसीले उपत्यकाका नयाँसडक, लैनचौर र खुमलटार र उपत्यकाबाहिर सात ठाउँबाट सुपथ मूल्यमा आफ्ना बिक्री गर्ने गर्छ ।
यस्तै साल्ट ट्रेडिङ कर्पाेरेसनले उपत्यकासँगै मुलुकभर २४ स्थानबाट सुपथ मूल्यमा सामान वितरण गर्ने भएको छ । काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्रबाट सुपथ मूल्यमा सामान वितरण गरिने कर्पाेरेसनले जनाएको छ ।
चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुनेहुँदा उपभोक्तालाई राहत दिन सरकारले प्रत्येक वर्ष सुपथ पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई दुई करोड ३२ लाख र साल्ट्र टे«डिङ कर्पाेरेसनलाई एक करोड रुपियाँ छुट्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यसबाट उपभोक्तालाई छुट दिएबापतको रकम जति हुन्छ त्यति रकम सरकारले शोधभर्नाबापत उपलब्ध गराउने गर्छ । दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । सुुपथ पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:३७
प्रतिक्रिया दिनुहोस्