Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ नोटको छपाइ देखि सुरक्षा सम्मको नालीबेली 

बुधबार, मंसिर ७, २०७९
काठमाडौं – हरेक वर्ष झै यसपटक पनि दशैँको अवसरमा नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाएको छ । गत वर्ष सात अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको राष्ट्र बैंकले यस पटकको दशैँमा १० अर्ब नयाँ नोट सटही गर्ने जनाएको छ ।  दशैँ, तिहार र छठ पर्वको अवसर पारेर राष्ट्र बैंकले बुधबारदेखि नयाँ नोट साट्न थालिसकेको छ भने अन्य बैंक र उपत्यका बाहिर असोज २ गते देखि नयाँ नोट साट्न सकिने उल्लेख गरिएको छ । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँसम्मको नोट एक/एक वटा बन्डल पुग्ने गरी १८ हजार ५०० रुपैयाँसम्म साट्न पाइनेछ ।  काम नलाग्ने बिग्रिएका नोटहरू के गरिन्छ ?  काम नलाग्ने बिग्रिएका तथा झुत्रा नोटहरू जलाएर खरानी बनाइन्छ । नोट नेपालमा छापिँदैन । राष्ट्र बैंकका अनुसार मुद्रा व्यवस्थापन विभागले आवश्यकता अनुसार नेपाली रुपैयाँ तथा सिक्काको डिजाइन तयार गर्ने, छपाउने, सिक्का टकमरी गर्ने/गराउने तथा देशव्यापी रुपमा मुद्राको सहज आपूर्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्नुका साथै मुद्रा सटही र चलनचल्ती अयोग्य नोटहरूलाई नष्ट गर्ने कार्य गर्दछ । राष्ट्र बैंकले राष्ट्र बैंक ऐन, २०५८ को अधीनमा रहेर नोट जलाउन पाउने अधिकार छ ।  नेपाली मुद्राको छपाइ कसरी गरिन्छ ? नेपाली मुद्राको छपाइ अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट कम्पनी छनौट गरी सोही कम्पनी मार्फत गर्ने गरिन्छ । नेपालमा हाल प्रयोग हुने ५० को नोट फ्रान्समा, १०० को बेलायतमा र अन्य सबै नोटहरू चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनमा छाप्ने गरिन्छ । नोटको सुरक्षा कसरी गर्न सकिन्छ ? नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याइकन राख्ने, कुनै पनि प्रकारको रङ नलगाउने गर्नुपर्दछ । नोटमा जथाभावी लेख्नु हुँदैन । त्यस्तै, नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच गर्ने, टाँस गर्ने जस्ता नोटको क्षति हुने तथा आयु घट्ने कार्य गर्नुहुँदैन । नोटमा मनोमानी लेखेमा वा कोरेमा वा काटकुट गरी स्वरुप बिगारेमा के हुन्छ ? नोटमा मनोमानी लेखेमा वा कोरेमा वा काटकुट गरी स्वरुप बिगारेमा सो नोट जफत हुनुको साथै तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना समेत हुन सक्दछ । जाली नोटको पहिचान कसरी गर्न सकिन्छ ? नोटमा रहेका आँखाले देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ । जस्तै: सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ । नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रुपमा देखिंदैन ।  सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा ल्च्द्य लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन । नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन् सक्दछ । सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन । सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिंदैन तथा लत्पतिंदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ । नोट जाली हो कि भनी शंका लागेमा के गर्नुपर्दछ ? नोट जाली हो कि भनी शंका लागेमा नजिकको नेपाल राष्ट्र बैंकको कार्यालय वा प्रहरी कार्यालयमा खबर गर्नुपर्दछ । बैंकमा जति पनि नयाँ (फ्रेस) नोट साट्न पाइन्छ ? बैंकले तोके अनुसार मात्र नयाँ (फ्रेस) नोट साट्न सकिन्छ । बैंकले सोही दर वा अन्य दरको सुकिलो वा (फ्रेस) जुनसुकै प्रकारको नोट उपलब्ध गराएर सटही सुविधा प्रदान गर्न सक्दछ । आगलागी वा दैवीप्रकोपमा परेका नोटको सट्टाभर्ना कसरी लिन सकिन्छ ? आगलागी वा दैवी प्रकोपमा परेका नोटको सट्टाभर्ना लिनको लागि सम्बन्धित प्रहरी कार्यालय वा सम्बन्धित स्थानीय निकाय वा प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारीबाट प्रमाणित निस्सा र मुचुल्कासहित निवेदन पेश गर्नुपर्दछ । नयाँ नोट दशैंमा मात्र छापिन्छ ? दशैको मुखमा बैंकहरुको निक्षेप बढ्छ । बजार समेत दशंैको समयमा बढी चलायमान भइरहेको हुन्छ । त्यसैले राष्ट्र बैंकले दशैँको समयमा धेरै नयाँ नोट बजारमा पठाउँने गर्दछ । यस समयमा नयाँ नोटको माग समेत बढि हुन्छ । यद्यपी अन्य समयमा पनि आवश्यक्ता अनुसार नयाँ नोट पठाइरहेको हुन्छ ।  दशैको नयाँ नोट – डिजिटल कारोबारमा संकुचन ? कोरोना माहामारीसँगै डिजिटल कारोबारमा आएको वृद्धि र राष्ट्र बैंक र सरकारले समेत निकै जोड दिएको डिजिटल कारोबारलाई दशैँको बेला आएको  नयाँ नोटले प्रभावित बनाएको छ । नगद कारोबार निरुत्साहित गर्न लागि परेको  राष्ट्र बैंक आफैले १० अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याएको छ । नयाँ नोट सटही गर्दा धेरै रुपैया बाहिरिने, नोट छपाइको लागत बढ्ने र डिजिटल कारोबारमा गिरावट आउने देखिन्छ ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:२८
प्रतिक्रिया दिनुहोस्