नेभिगेशन
जीवनयापन

लगातारको वर्षाले विभिन्न ठाउँमा बाढी, पहिरो, डुबान र कटान

कञ्चनपुर– लगातारको वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा बाढी, पहिरो, डुबान र कटान गरिरहेको छ । बिहीबार बिहानैदेखि सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ । वर्षासँगै सुदूर तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीका केही बस्तीहरू डुबानमा परेका छन् भने पहाडी जिल्लाहरूका ठाउँ ठाउँमा पहिरोले भूक्षय गरेको छ । कञ्चनपुर र कैलाली भएर बग्ने मोहना, खुटिया, कान्द्रा, पथरिया, दोदा, सुनबरा, बनहरा, स्याली, चौधर, जोगबुढा लगायतका साना नदी तथा खोलामा आकस्मिक बाढी आई खतराको सङ्केत पार गरेको छ । त्यस्तै, महाकाली नदीमा समेत जल स्तर बढेपछि पुलमा आवागमन बन्द गरिएको बताइएको छ । नदी तटीय क्षेत्रमा कटान र पटान समेत भइरहेको छ । कञ्चनपुरका लालझाडी, बेलौरी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा र दोधारा चाँदनीका केही बस्ती डुबानमा परेका छन् । किसानले लगाएको धान बाली, उखु बाली, तरकारी, फलफूल र तेलहन तथा दलहनमा समेत वर्षाले क्षति पुगेको छ । अहिलेसम्म मानवीय क्षति नभए पनि पशु चौपायाको क्षति भएको छ । कञ्चनपुरमा बाढी प्रभावित सबै क्षेत्रहरूमा गरी एक हजार भन्दा बढी घरहरू डुबानमा परेका छन् । जोगबुढा नदीको बाढी पस्दा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ७ स्थित कञ्जभोज र वडा नम्बर १० मा रहेका सशस्त्र प्रहरीका बिओपी क्याम्पहरू विस्थापित भएका छन् । उक्त क्षेत्रमा शनिबार मध्यान्हपछि मात्रै जोगबुढा नदीको बाढी पसेको हो । शुक्लाफाँटाको तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बनहरा नदीको बाढीले कटान गर्दा ढलेको छ । पुनर्वासको सिमरी क्षेत्रमा दोदा नदीको बाढी पस्दा हुलाकी राजमार्ग समेत अवरुद्ध भएको छ । वर्षाकै कारण जङ्गल क्षेत्रभित्र केही ठाउँमा रुख ढल्दा विद्युतीय संरचनामा क्षति पुग्न गई कञ्चनपुरको आधा भूभागमा गए रातिदेखि नै विद्युत् सेवा समेत अवरुद्ध भएको छ । प्राविधिक टोली शनिबार बिहानैदेखि मर्मत कार्यमा खटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । होचो ठाउँमा रहेका विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक स्थल तथा पसलहरूमा समेत पानी पसेर क्षति पुगेको छ । बस्तीमा बाढी पस्दा सुरक्षा निकाय, रेडक्रस, विपद्को क्षेत्रमा क्रियाशील सङ्घसंस्था, जनप्रतिनिधि तथा स्थानीयको टोलीले बढी प्रभावित मानव र पशु चौपायाको उद्धार गरी सुरक्षित स्थानमा सार्ने र खाद्य सामग्री उपलब्ध गराउने कार्य भइरहेको प्रशासनले जनाएको छ । अझै पनि थप वर्षा हुने भएकोले कञ्चनपुर र कैलालीका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । कैलालीका धनगढी, गोदावरी, जोशीपुर, कैलारी, जानकी, भजनी, लम्कीचुहा, टिकापुरका विभिन्न बस्तीमा बाढी पसेको छ भने चुरेका केही ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ । कैलाली जिल्लाभर एक हजार पाँच सय भन्दा बढी घरहरू डुबानमा परेको बताइएको छ । डुबानबाट दर्जनौँ पशु चौपाया र पंक्षीहरू मरेका छन् । धनगढी उपमहानगरपालिका १३ झलारी बस्ने २० वर्षीया नबिना चौधरी माछा मार्ने क्रममा झलारी नालामा डुबी बेपत्ता भएको र प्रहरी टोलीले खोजतलास गरिरहेको जनाएको छ । टिकापुर नगरपालिका २ विजय नगरमा कच्ची घर भत्कन गई सोही घरमा बस्ने बस्ने २२ वर्षीय शिशिर चौधरीको टाउको र छातीमा चोट लागेकोले टिकापुर अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर बाँके रेफर गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, चुरे गाउँपालिका ३ सहजपुर भुलगाँउ बस्ने रामप्रसाद सापकोटाको टिनले छाएको एक तले ३ कोठे ईलेक्ट्रोनिक पसलमा माथिबाट पहिरो आई पसल पूर्ण रूपमा क्षतिग्रस्त भएको र सोही पसलमा सुतिरहेको अवस्थामा पसल धनीका ८ वर्षीय छोरा आयुष सापकोटाको टाउकोमा चोट लागी घाइते भएकोले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । कैलारी गाउँपालिका ३ खोनपुर स्थित मोहना नदीमा नयाँ निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुलका पिल्लरहरू मोहना नदीले कटान गरी बगाएको कैलाली प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण कैलालीको चुरे स्थित सडक माथिबाट पहिरो खस्न गई शनिबार बिहानैदेखि भीमदत्त राजमार्गमा अवरुद्ध भएकोमा उक्त पहिरो सफा गरी राजमार्ग पुन: सुचारु गरिएको इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै