नेभिगेशन
जीवनयापन

‘गुणस्तरीय सिप प्रदान गर्न सके स्वदेशमै रोजगारी प्राप्त गर्न सकिन्छ’

वीरगञ्ज– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विदेशबाट फर्किएका युवायुवतीहरूलाई गुणस्तरीय सिप प्रदान गर्न सके स्वदेशमै रोजगारी प्राप्त गर्न सकिने बताएका छन्। युएनडिपी, इयु र सिटीइभिटीको सहयोगमा शिक्षा मन्त्रालयद्वारा वीरगञ्जमा आयोजित विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि तालिममा सचिव सुवेदीले कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केका नेपालीहरूको सीपको पहिचान गरी सोही अनुसारको तालिम प्रदान गरी उनीहरुलाई स्वरोजगार बनाउने बताए । सिटीइभिटीका अध्यक्ष दिपक पौडेलले विदेशबाट प्राप्त गर्ने रेमिटेन्स देखिएको तर बाकसबाट फर्केको लास नदेखिएको भन्दै सीपमूलक तालिम प्रदान गरेर युवायुवतीहरूलाई सकेसम्म स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले तालिम प्रदान गर्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले मुलुकमा दक्ष जनशक्ति अभाव भएको कारण बारा–पर्सा औद्योगिक करीडोरमा रहेका करिब १५ सय कलकारखानामा भारतीय कामदारहरू रहेको भन्दै सरकारले उद्योग क्षेत्रमा आवश्यकता अनुसार तालिम प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा तालिम लिइरहेका पर्सागढी नगरपालिकाका वृजकिशोर चौरसीयाले विदेशमा काम गर्दा भोग्नुपरेका समस्याको बारेमा जानकारी दिँदै आफूले तालिममा आल्मुनियमसम्बन्धी काम सिक्दै गरेको बताए। कार्यक्रममा सहभागी पत्रकारहरूले स्थानीय सरकारले सञ्चालन गर्ने तालिमहरूमा नागरिकलाई रोजगार बनाउन नभई केवल बजेट सिध्याउने काम गर्ने गरेको हुँदा यसतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै