Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिलाद्वारा जितवाहनको पूजा र कथा श्रवण

शुक्रबार, मंसिर ९, २०७९
कल्याणपुर– तराई मधेशका महिलाले मनाउने पर्व जितीया पर्वको दोस्रो दिन शनिबार व्रतालुहरुले उपवास बसी जितवाहनको पूजागरी कथा श्रवण गरेका छन् । शुक्रबारदेखि नहाय खायबाट सुरु भएको जितीया पर्वको दोस्रो दिन जितीया व्रतको कथा सुनेर जितीया मनाएका हुन् । जितीयाको तेस्रो दिन आइतवार साँझ ५ वजेतिर सम्पन्न हुनेछ । आश्विन कृष्णपक्ष अष्टमीको तीथिमा उपवास बस्ने र तीथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात ब्रतलाई विधिवत् समापन गरिन्छ । यस वर्ष तीथि घटबढका कारणले शनिबार दिउँसो २ बजेपछि अष्टमी तीथि सुरु भएको आइतबार ५ बजेपछि अष्टमी तीथि समाप्त हुने भएकाले अधिकांश मैथिली समुदायका महिलाले शनिबारदेखि नै ब्रत बसेका छन् । थारु समुदाय र केही अन्य समुदायले आइतबार ब्रत बसी सोमबार पारण गर्ने गर्छन् । व्रत अवधिमा व्रतालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उहाँजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । द्वापरयुगमा एक विधवा ब्रह्माणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको किंबदन्ती छ । मिथिलाञ्चलमा यो ब्रत गर्नेहरु एक दिन अघिदेखि ‘सधवा’ अर्थात (श्रीमान जीवितै रहेको महिला) ले ‘माछ–मडुवा’ (माछा र कोदो) खाने चलन छ भने एकल महिला (विधवा) ले ‘अर्बा–अर्वाइन’ खाने चलन छ । पानीसम्म नखाई निराहार ब्रत बस्नुपर्ने भएकाले जितिया पर्व गर्न गा¥हो हुन्छ । दुई दिनसम्म उपवास बस्नु पर्ने भएकाले अष्टमी तीथिको शुरुवात हुनुअघि दही च्यूरा खानुलाई मैथिली कथन ‘जितिया पावन बड भारी घियापुताके ठोक सुतावि अपना खाय भेर थारी’ ले जोडेको छ । प्रायः अष्टमी तीथिको शुरुवात विहान ३–४ बजेपछि हुने गर्छ । पहिलो पटक व्रतको सुरुवात गर्ने महिलाले गाईको गोवरले आँगन लिपेर पवित्र पारी शालिबाहन राजाकापुत्र जितवाहन कुशको प्रतिमा बनाएर कलशको जलमा स्थापना गरी कलशको चारैतिर सुसज्ज्ति पारेर पोखरीको निर्माण गर्ने चलन छ । ब्रत बसेका महिला एक स्थानमा जम्मा भई भगवान जितवाहनको कथा सुन्ने परम्परा रहेको छ । जितिया ब्रत बसेका महिलाले थुक समेत निल्न नहुने मान्यता रहेको छ । ब्रतालु महिलाले थुक निले ब्रत नै टुंगिने बताउँछन् साधना कर्ण । शनिबार विहान ५ बजे अगाडि अंगुठन खाइसकेपछि ब्रतालु महिलाले शनिबारका दिन र रातभर र आइतबार दिनभर पानीसमेत नखाएर निराहार बस्नुपर्ने उनको भनाई छ । पर्वको अन्तिम दिन आइतबार ब्रतालु महिलाहरु पुनः नदी, पोखरी र जलासयमा स्नान गरेर चिउरा, दही तथा सखरको प्रसाद बनाएर अर्घ दिइसकेपछि जितिया ब्रत समाप्त हुनेछ । आइतबार अधिकांश स्थानीय सरकारले जितीया पर्वको उपलक्ष्यमा विदा दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:२४
प्रतिक्रिया दिनुहोस्