Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीपीडितको सहयोग र उद्धारका लागि कांग्रेस नेत्री देउवाको अपिल

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गरेकी छन्। नेपाली कांग्रेस केन्द्रीय सदस्य डा। देउवाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै सुदूरपश्चिमको अछाममा पहिरोका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन्। साथै उनले पहिरोमा परेर घाइते भएकाको तत्काल नि:शुल्क उपचारको व्यवस्थाका लागि पनि नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेकी छन्। पहिरोमा ज्यान गुमाउनेका आश्रित परिवारलाई आवश्यक सहयोग र उद्धारका लागि उनले आग्रह गरेकी छन्। त्यसैगरी डा देउवाले कञ्चनपुरमा बाढीका कारण तीन सयभन्दा बढी घर डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएकाले सो क्षेत्रमा तत्काल उद्धार र राहतका कार्यक्रमका लागि पीडितलाई सहयोग गर्न पनि अनुरोध गरेकी छन्। वर्षायाममा हरेक वर्ष नेपालका विभिन्न भू–भागमा बाढी र पहिरोले ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुने गरेकाले यस समस्याको दीर्घकालीन समाधानका उपायहरूको पहिचान गरेर त्यसको कार्यन्वयन गर्न उनले सरकारसँग अनुरोध गरेकी छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:२३
प्रतिक्रिया दिनुहोस्