'सुनेको चीनः देखेपछि'
नारायणप्रसाद शर्मा फुँयाल
नेपाली साहित्य वाङ्गमय जगतका उदीयमान साधक साहित्यानुरागी प्राज्ञ डा. तुलसी भट्टराईसँग उहाँकै भाइ मेरा अनन्य मित्र प्रेरणाका सागर कमलराज भट्टराई सरको लेखा परीक्षकको निजी कार्यकक्षमा भेटघाट कुराकानी गर्ने अवसर मिल्यो ।
स्रष्टासँगै काठमाडौँबाट आउनु भएका साहित्यकारहरू विष्णु विभू घिमिरे र विष्णु ओलीसँग पनि परिचय गर्न पाइयो । थोरै समय भएपनि त्यो भेटले महत्व भने ठूलै राखेको अनुभूति भैरहेछ। उहाँहरूले धेरै हतार गर्नु भयो तापनि कमलराज सरको आग्रहलाई टार्न नसक्नाले चियाको सर्को लिन स्वीकार गरेरै आफ्ना गन्तव्यतिर लाग्नु भयो ।
उहाँहरु हिँडेपश्चात सुनेको चीनः देखेपछि शीर्षक राखिएको नवीनतम कृति पुस्तकको शुरुकै पृष्ठमा मित्रवर नारायण शर्मामा समीक्षार्थ हार्दिकता साथ लेखी हस्ताक्षर सहितको कृति मेरा हातमा दिदैँ गर्दा र मैलो दुवै हातले ग्रहण गर्दै गरेको तस्वीर खिचाईसँगै प्राप्त यो अनुपम यात्रा संस्मरण माथि समीक्षा लेख्न पाउनु अहोभाग्य ठान्दै सर्जक प्रति आभार व्यक्त गर्दछु ।
चिटिक्कको पुस्तकको अगाडिको जिल्दमा विश्वकै आठौं आश्चर्य मध्येको ग्रेटवाल अफ चाइनाको त्यो विशाल पर्खाल जुन चन्द्रमाबाट पनि देखिने त्यसको नक्सा सहित गुम्नजशैलीको गुम्बा (स्तूप) त्यो समथर फाँटबाट माथि हुँदैको हरियाली पहाडको मनोरम दृश्य सहितको नक्साको तल पुच्छरमा पहेँलो बक्समा तुलसी भट्टराई लेखिएको र माथि गुम्बासँगै नीलो रङ्गमा सुनेको चीनः देखेपछि लेखी पछाडिको जिल्दमा ऐतिहासिक एवं आधुनिक परिवेश झल्किने खालका नक्साको झण्डैमाथी पट्टी श्रष्टाको हँसिलो प्रभावशाली तस्वीर राखिएको अनि १३७ पृष्ठदेखि १६० पृष्ठसम्म भ्रमणसँग सम्बन्धित अड्चालिस श्याम स्वेत तस्वीरहरू छन्, ती तस्वीरहरू सन्दर्भ सहित आफैं बोल्दैछन् ।
पुस्तक ओरिएन्टल पब्लिकेसन काठमाण्डौले प्रकाशित गरेर पाठकसम्म प्रस्तुत गरेको छ र, यो भ्रमण नियात्रा संस्मरण भौतिक एवं प्राज्ञिक दुवै पक्षमा परिष्कृत, रोचक अनि पठनीय ठह्याएको छु । किनकी १७ वटा मूल शीर्षक ४३ वटा उप–शीर्षकले भरिभराउ गणतान्त्रिक चीनको यात्राक्रमा सर्जकका मेहनत, गहकिला अनुभवका आलोकमा सुनेको चीनः देखेपछि कृति पढ्दा मेरा अन्तरष्करणले अनुपम कृति ठह¥याएको छ ।
पुस्तकको गरिमाका सन्दर्भमा भने नेपाल प्रज्ञा प्रतिष्ठानको श्रदेय कुलपति गंगाप्रसाद उप्रेती ज्यूले चीनलाई चिनाउने चस्मदिद विवरणको प्रस्तोता डा. तुलसी भट्टराई शीर्षकको भूमिका नै काफि छ र यथार्थपरक छ । र यो कृति चीन नगएका पाठकहरुका लागि निकै रोचक हुन सक्ने देखिन्छ भनी आफ्नो भूमिका मै उल्लेख गर्नु भएको पनि छ । यो भनाइ (लेखाइ) ले पनि पुस्तकको महत्वलाई खोतल्न मद्धत पु¥याउँदछ ।
श्रष्टाले प्राक्कथनमा शुरुमै नेपाल दुई ढुंगाका बीचमा च्यापिएको तरुल जस्तै हो भन्ने आसयलाई सामु राखी आफ्नै छिमेकीका बारेमा हामी जानकार छैनौं । यो वाक्यको मर्म र धर्मलाई हामी कतिले के कति ? बढी वा घटी बुझेका छौं या छैनौं । हाम्रा उत्तर सीमामा विशाल गणतान्त्रिक समृद्ध चीन छ र दक्षिण, पश्चिम र पूर्व तीन तीरको सीमामा अर्को पनि विशाल प्रजातान्त्रिक मुलुक भारत अवस्थित छ । तीन तिर सीमा जोडिएको र प्रायः जसो संस्कृति मिल्ने छिमेकी राष्ट्र र उत्तरको सीमा ढाक्ने अर्को छिमेकी मुलुकवीचको आइनो साइनो भित्रको रहस्यलाई थोरैले चिस्स छुवाउनुले पनि हामीले त्यस बारेमा हेक्का राख्नै पर्ने रहेछ । अनि त छिमेकीसँगको सामीप्यताको रहस्य बुझ्न सकिएला की । यात्रा सन्दर्भले धेरै जानकारीहरु दिन्छन् नै ।
भारत जान त्यस्तो सकस छैन किनकी खुल्ला सीमा छ र चीन जान सितिमिती सहज छैन, त्यहाँ जान प्रवेशज्ञा (भीजा) को आवश्यकता पर्दछ र त्यो पाउन त्यति सजिलो भने रहेन छ । जसै सर्जकले साहित्यकारहरू र व्यापारिहरुको जम्बोटोलीसँगै चीन जाने अवसर प्राप्त गर्नु भयो । थोरै समयमै भएपनि त्यस्को उहाँले भरपुर प्रयोग गर्नु हुँदा यो कृतिको रुपरेखा तयार गर्नु भएको छ । यो एउटा उदाहरण पनि हो । आफ्नै नाङ्गा आँखाले भिजनमा उर्तान राम्ररी यत्नले नियालेर फराकिलोसँग शब्दहरुमा उतारिएकोले पाठकले आफू स्वयंलाई यात्रीको रुपमा उभ्याउन र रमाउछन् भन्ने भान हुन्छ । किनकी लेखकले नजिकैबाट हेरेका र बुझेका विभिन्न प्रसङ्गले यो कृति भरिभराउ छन् ।
पुस्तकमा लेखिएका वा यस भित्रका महत्वपूर्ण पक्ष चीनको प्राचीनकालदेखि मध्ययुगीनहुँदै आधुनिक युगको पूर्वाद्धसम्मको आरौह अवरोह, उन्नति, अवनति सँगै बेलायती ज्यादती, सांस्कृतिक क्रान्तिसँगै माओको उदयले जनवादी गणतन्त्रहुँदै विगतदेखि वर्तमानसम्मको प्रसङ्गहरुलाई विभिन्न शीर्षकमा सन्दर्भहरु मिलाई समेटिएको तथ्यलाई पढ्न पाइन्छन् ।
स्रष्टाका पारेखी आँखाले चीनलाई यथार्थमै आफ्नो पाइलाले चीनरुपी धर्तीमा टेक्न, हेर्न पाएकोले सुखद अनुभूतिको महसुस हुन्छ । किनकी चीनको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, राजनैतिक, आर्थिक गतिविधि एवं प्राचीन सभ्यता एक अरव चालीस लाख भन्दा माथिको जनसंख्याले भरिएको आधुनिक चीन, तिब्बतको राजधानी ल्हासादेखि मूल भू–भागका शहरहरु, चीनको प्रशासकीय प्रान्त हङकङमा सीमित भ्रमणको सार्थकता चीनसँग सम्बन्धित रोचक एवं विश्वसनीय सन्दर्भमा सुनेका कुरा र पढेको ज्ञान भन्दा धेरै गुणा ठूलो ज्ञान जानकारी र अनुभव आफ्नै आँखाले देखेका विषयबाट प्राप्त गर्न सकिन्छ ।
अतः हजारौं वर्षको इतिहासमा गौरवशाली विगत र समृद्धशाली वर्तमानलाई उन्नति, अवन्नति झेल्दै व्यहोर्दै आज विश्वलाई नै हल्लाउन सक्ने चीन सुनेका मात्र सर्जकले चीन हेर्न पाउनु भएकोले पाठकलाई कोशेली स्वरुप दृश्य भ्रमणको साहित्यलाई बहुउद्देश्य अनुरुपको महत्व दर्साउनाले पनि कृतिको गरिमालाई बढाएको महसुस गर्न सकिन्छ ।
आगामी दिनमा पनि महत्वपूर्ण एवं पठनीय कृतिको अपेक्षा राख्दै शुभकामना ।
नमन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:४०
प्रतिक्रिया दिनुहोस्