यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ११ निर्णय
काठमाडौं– शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने अघिल्लो सरकारको निर्णय खारेज गर्ने लगायत ११ वटा निर्णय गरेको छ ।
त्यसैगरी, नयाँ दिल्लीमा हुने इनटरपोलको ९०औं महासभामा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई सहभागी हुन स्वीकृत दिने, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष नियुक्ति लगायत सरकारले निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु–
१. नेपालको संविधानको धारा ५३ को उपधारा २ बमोजिम संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत २०७९ साल असोज १ गते शनिवार राति १२ बजेबाट अन्त्य गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
२. सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझाव सम्बन्धी समिति गठन गर्ने ।
३. विद्युत सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिन स्वीकृत दिने ।
४. विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने ।
५. कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव श्री कालीप्रसाद पराजुलीलाई तोक्ने ।
६. २०७९ साल कार्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुन गइरहेको इनटरपोलको ९०औं महासभामा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई सहभागी हुन स्वीकृत दिने ।
६. संयुक्त अधिराज्यका महारानी एलिजावेथ द्वितीयको १९ सेप्टेम्बर २०२२ मा हुने राजकीय अन्त्येष्टिमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।
७. राष्ट्रिय भूमि आयोगका सदस्यहरुमा नवलपरासी पश्चिम पालीनन्दन गाउँपालिका २ का श्री सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको र पोखरा नगरपालिका वडा नम्बर ९ का सोमबहादुर नेपालीलाई कास्की जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्ति गर्ने ।
८. कोहलपुर–सुर्खेत–दैलेख, १३२ केबी प्रशारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
९. २०७९ कार्तिक ८ र ९ मा जेनेभामा आयोजना हुने कमिशन अन साइन्स टेक्नोलोजी फर डेभलपमेण्ट इन्टरसेशनल प्लान मिटिङमा सहसचिव विज्ञान तथा प्रविधिलाई भाग लिन स्वीकृत दिने ।
१०. नेपाल सरकार मन्त्रिपरिषद्को २०७७।७।२७ निर्णय बमोजिम विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने ।
११. २०७९ साल भदौ २१ गतेको निर्णयमा छुट भएको शहीद दशरथ चन्द स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०८
प्रतिक्रिया दिनुहोस्