पहिरो पीडितको उद्धार तथा राहतमा कमी हुँदैन: मन्त्री कुँवर
अछाम– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले अछामका पहिरो पीडितलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिने बताउनुभएको छ ।
शुक्रबार रातिको बाढी र पहिरोमा परी २२ जना पहिरो र १ जनाको खोलाले बगाएर मृत्यु भएको अछाममा पुगी मन्त्री कुँवरले विपद्को बेला सबैले सचेत हुन समेत आग्रह गर्नुभयो ।
पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर उहाँले घाइतेको उपचार सरकारले गर्ने बताउनुभयो ।
मन्त्री कुँवर पहिरो प्रभावित क्षेत्रमा गई राहत सामग्री पनि वितरण गर्नुभयो । मन्त्री कुँवरले त्रिपाल, ब्लांकेट, खाद्यान्न लगायत सामग्रीसहित नगद सहयोग गर्नुभएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताउनुभयो । मन्त्री कुँवरले मृतक प्रतिव्यक्ति १० हजारका दरले मृतकका आफन्तलाई सहयोग गर्नुभएको हो ।
यसैगरी गृह मन्त्रालय मार्फत प्रमुख जिल्ला अधिकारी मरासिनीले प्रति परिवार १ लाखका दरले किरिया खर्च उपलब्ध गराउनुभएको छ । थप सहयोग पछि हुने र तत्कालका लागि किरिया खर्च बापत प्रतिपरिवार १ लाख उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:५६
प्रतिक्रिया दिनुहोस्