महिला साफ च्याम्पियनसिप: नेपाल फेरि पनि उपविजेता
काठमाडौँ– बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।
बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन ।
नेपालकी अनिता बस्नेतले एक गोल फर्काईन् ।
खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट भली गोल गरे ।
खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाईन् । कप्तान सबिना खातुनको चलाखीपूर्ण पासमा अनमार्क रहेकी सरकारले उत्कृष्ट गोल गरिन् ।
७० औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याईन । अमिषा कार्कीको पासमा अनिताले उत्कृष्ट गोल गरिन् ।
तर, खेलको ७७ औं मिनेटमा श्रीमोती सरकारले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३-१ को जित दिलाईन् ।
यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।
नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:५०
प्रतिक्रिया दिनुहोस्