महारानी एलिजाबेथको अन्तिम संस्कार सम्पन्न
लण्डन– बेलायतको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कायहर्रू सम्पन्न भएका छन् ।
त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रोपदी मुर्मूसहित सयौँ गन्यमान्य विदेशी पाहुनाहरू उपस्थित भएका थिए ।
द डिन अफ वेस्टमिन्स्टरले ड्याभिड होइलले उक्त समारोहको नेतृत्व गर्ने क्रममा ‘आजीवन बहन गरेको उत्तरदायित्व’ प्रति कृतज्ञता व्यक्त गरेका थिए ।
राजा चाल्र्स तृतीयले मलिन भावमा आफ्नी आमाको शवपेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबेसम्मको शवयात्राको नेतृत्व गरेका थिए भने राजपरिवारका अन्य सदस्यले उनलाई साथ दिएका थिए ।
डीन होइलले समारोह सुरु गर्ने क्रममा एलिजाबेथ द्वितीयाले ‘महारानी र राष्ट्रमण्डलको प्रमुखका रूपमा कैयौँ वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता’ प्रस्तुत गरेको बताएका थिए ।
उनले भने, ‘सम्मानसाथ हामीले उहाँको जीवनभरको जिम्मेवारी बोध र आफ्ना नागरिकप्रतिको प्रतिबद्धताको स्मरण गर्छौँ ।’
महारानीको शव पेटिका वेस्टमिन्स्टर एबेमा प्रवेश गर्दा भजन मण्डलीले सङ्गीतबद्ध ढङ्गले श्लोकहरू गाएका थिए जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको छ ।
त्यस्तै, प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थका श्लोकहरू पाठ गरेका थिए । एक वरिष्ठ धर्मगुरु (आर्चविशप अफ क्यान्टरबरी) जस्टिन वेल्बीले उपदेश दिँदै र गायिका डेम भेरा लिनलाई उद्धृत गर्दै हामी फेरी भेट्नेछौँ भनेका थिए । उक्त वाक्यांश कोभिड महामारी सुरु भएपछि राष्ट्रलाई गरेका दुर्लभ सम्बोधनमा महारानीले पनि प्रयोग गरेका थिए ।
आर्चविशप वेल्बीले भने, ‘यस दिनको शोक– दिवङ्गत महारानीका परिवारले मात्र अनुभव गरेको छैन पूरा देश, राष्ट्रमण्डल र विश्वभर महसुस भएको छ । उनको दीर्घ जीवन र प्रेममय सेवा अब हामीबाट अन्त्य भएको छ ।’
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२०
प्रतिक्रिया दिनुहोस्