Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गमका विद्यार्थीको पीडा: छ घण्टा हिँडेरै पुग्नुपर्छ विद्यालय

शुक्रबार, मंसिर ९, २०७९
बागलुङ– खुङ्खानी र नर्जाखानी दूरीका हिसाबले त्यति धेरै टाढा छैनन् । भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न झन्डै चार घण्टा बढी लाग्छ । भर्खर भर्खर गाउँमा सडक त पुगेको छ तर गाडी भने निरन्तर चल्दैनन् । तमानखोला गाउँपालिकामा पर्ने यी दुई गाउँमध्ये खुङ्खानी वडा नं ५ र नर्जाखानी वडा नं ६ मा पर्छ ।
पालिका केन्द्र बोङ्गादोभानभन्दा नजिक रहेको हुँदा खुङ्खानी गाउँ केही सुगम छ तर नर्जाखानी निकै दुर्गममा छ । भौगोलिक विकटताका कारण स्वास्थ्य, शिक्षा लगायतका विकासका पूर्वाधार पनि कमै निर्माण भएका छन् । यस गाउँमा अहिलेसम्म माध्यमिक शिक्षाको पढाइ हुन सकेको छैन । नर्जाखानीका सयौँ विद्यार्थी माध्यमिक शिक्षाका लागि खुङ्खानी आउनुपर्ने बाध्यतामा छन् । नर्जाखानीसँगै वडा नं ६ को पात्ले र भित्रिवन गाउँका विद्यार्थी पनि दैनिक छ घण्टा यात्रा गरेर माध्यमिक शिक्षा हासिल गरिरहेका छन् । उनीहरूले यो समस्या भोग्न थालेको वर्षौं भयो । नर्जाखानी, पात्ले र भित्रिवन गाउँका सयौँ बालबालिका गाउँमै रहेको विद्यालयबाट आधारभूत तहका पढाइ पूरा गरेपछि माध्यमिक शिक्षाका लागि वडा नं ५ खुङ्खानीमा रहेको शान्ति माविमा पुग्छन् । “स्कुल टाढा छ, बिहान चाँडै हिँडिएन भने हाजिर भेट्न पुगिन्न, यहाँबाट स्कुल जानआउनका लागि छ घण्टा लाग्छ, दैनिक हिँडेरै जानुपर्छ गाडी पनि खासै चल्दैन”, कक्षा १० मा अध्ययनरत विकास सिर्पालीले भन्नुभयो । उहाँले दैनिक छ घण्टा हिँड्दा थकाइ लाग्ने हुँदा सोचेअनुसारको पढाइ हुन नसकेको बताउनुभयो । सिर्पालीले विद्यालय नजिकै कोठा लिएर बस्न सक्ने अवस्थासमेत नभएको सुनाउँदै आफूले दुई वर्षदेखि घरबाटै आवतजावत गरी पढिरहेको बताउनुभयो । सिर्पालीले बर्खाको समयमा आफूलाई झन् ठूलो समस्या हुने बताउनुभयो । वर्षाका कारण खोलानाला बढ्ने र बाढी पहिराले बाटो नै बन्द गरिदिँदा विद्यालय पुग्नै समस्या हुने गरेको उहाँको भनाइ छ । बाढी पहिराका कारण कैयौँ दिन विद्यालय जानबाट समेत वञ्चित भएको उहाँको अनुभव छ । “अहिले बर्खाको समय छ, यो बेला त मरिन्छ कि बाँचिन्छ थाहै हुँदैन, बाटोघाटो बाढी पहिराले बन्द गरिदिन्छ, खोलानालाहरू बढेर वारपार गर्न नसकिने भएका छन्, पोहोर सालतिर त झन् पहिराले बाटो बन्द हुँदा धेरै दिन स्कुल गइएन”, उहाँले भन्नुभयो, “हिउँदमा पनि जाडोले हातखुट्टा कठ्याङ्ग्रिन्छन्, दुर्गममा भएर होला हामीलाई निकै समस्या छ ।” भित्रिवनकी पवित्रा घर्ती मगरले गाउँमा माध्यमिक शिक्षाका लागि विद्यालय नहुँदा अनेकौँ समस्याहरू भोग्नुपरेको बताउनुभयो । उहाँ लामो दूरीमा विद्यालय हुँदा प्रभावकारी रूपमा पढाइ हुन नसकेको बताउनुहुन्छ । घर्ती मगरले गाउँ नजिकै रहेको विद्यालयमा आठ कक्षासम्म पढ्दा सहज भए पनि अहिले गाह्रो भएको सुनाउनुहुन्छ । “आठ कक्षासम्म त गाउँकै स्कुलमा पढ्न पायौँ, दुःख थिएन, ९ बजे हिँडे पनि स्कुल पुगिन्थ्यो, अहिले ७ बजेभन्दा ढिला हिँडियो भने पहिलो पिरियड भेट्टाउन सकिँदैन, कक्षा ९ र १० पढ्न कि बोङ्गादोभान जानुपर्छ, कि खुङ्खानी नै जानुपर्छ, कि त पढ्नै छोड्नु पर्छ”, घर्तीले भन्नुभयो । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले नर्जाखानी क्षेत्रमा माध्यमिक तह सञ्चालनका लागि विद्यार्थी अपुग हुने र त्यसका लागि ठूलो बजेट चाहिने हुँदा अहिलेसम्म माध्यमिक तह सञ्चालन हुन नसकेको बताउनुभयो । अध्यक्ष बुढा मगरले नर्जाखानीमा कक्षा ८ सम्म राम्रोसँग सञ्चालन भइरहेको भन्दै यस क्षेत्र भौगोलिक विकटता र कम जनसङ्ख्याका कारण माध्यमिक तहको पढाइका लागि विद्यार्थीहरू खुङ्खानी आउनुपर्ने अवस्था रहेको बताउनुभयो । “यहाँका विद्यार्थीलाई निकै समस्या छ, हामीले बुझेका छौँ, माध्यमिक तह सञ्चालन गर्न पनि फेरि उत्तिकै चुनौती पनि छ, हामीले यहाँका विद्यार्थीलाई सहज रूपमा शिक्षा दिन सकिन्छ भन्ने विषयमा प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेका छौँ, सहज रूपमा शिक्षा प्रदान गर्न योजनासमेत बनाइरहेका छौँ”, अध्यक्ष बुढा मगरले भन्नुभयो । पात्ले गाउँमा कक्षा ३, भित्रिवनमा कक्षा ५ र नर्जाखानीमा कक्षा ८ सम्म पढाइ हुन्छ । नर्जाखानी गाउँका बालबालिकाले गाउँमै कक्षा १ देखि ८ सम्म अध्ययन सक्छन् भने भित्रिवन र पात्ले गाउँका बालबालिकाहरू नर्जाखानी आउनुपर्छ । पात्ले गाउँमा बालबालिकाले गाउँमा कक्षा ३ र भित्रिवनका बालबालिकाले कक्षा ५ उत्तीर्ण गरे भने त्यसमाथिको तहको अध्ययनका लागि नर्जाखानीमै पुग्छन् । भित्रिवनबाट नर्जाखानी आउन करिब डेढ घण्टा लाग्छ भने पात्ले गाउँबाट एक घण्टा लाग्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:३०
प्रतिक्रिया दिनुहोस्