रुसमा जनमत सङ्ग्रह घोषणा
काठमाडौं –रुसले कब्जा गरेका युक्रेनका चार क्षेत्रमा रुससँग मिसिने विषयमा तत्काल जनमत सङ्ग्रह घोषणा गरिएको छ । उक्त कार्यले रुसलाई युक्रेनका ती भूभाग आफूमा विलय गर्ने बाटो खोलिदिनेछ ।
पश्चिमा देशहरूले मस्कोको उक्त योजनाको निन्दा गरेका छन् । संयुक्त राज्य अमेरिका, जर्मनी र फ्रान्सले रुसी योजनाअनुसारको जनमत सङ्ग्रहलाई छद्यमको सङ्ज्ञा दिँदै त्यसको परिणामलाई अस्वीकार गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ ।
युद्ध चलिरहेको बेला निष्पक्ष र वैधानिक निर्वाचन हुन नसक्ने पश्चिमा देशहरूको धारणा छ । केही समययता रुसी अतिक्रमण रोकिएको छ भने युक्रेनले उत्तरपूर्वी क्षेत्रमा ठूलो भूभाग पुनः आफ्नो नियन्त्रणमा लिएको छ ।
पूर्वी र दक्षिणी भेगमा रहेका रुससमर्थित अधिकारीहरूले रुससँग मिसिनेबारे मतदान गर्न यो साता थालियोस् भन्ने आफूले चाहेको बताएका छन् । रुसले राखेका अधिकारीहरूले महिनौँदेखि आफ्नै शैलीको जनमतसङ्ग्रह गर्ने प्रयास गर्दै आएका थिए । तर स्वतन्त्र र निष्पक्ष मतदान हुने आशा कहिल्यै पनि थिएन र निरन्तरको युद्धले त्यसलाई व्यावहारिक पनि हुन दिएन ।
पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरीजा र खेअर्सनमा शुक्रवारदेखि पाँच दिन मतदान गर्ने योजना बताइएको छ । ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशत ओगट्छन् । रोयटर्स समाचारसंस्थाका अनुसार तिनको कुल क्षेत्रफल हङ्गेरीको जत्रो छ ।
रुसले सन् २०१४ मा क्राइमिया आफूमा गाभेको थियो । र, त्यतिबेला रुसले गराएको मतदानको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने ठानिएको थियो । तर स्रोतहरूका अनुसार क्रेम्लिनले उक्त योजनालाई पछि सारिएको सङ्केत गरेका थिए । त्यसको कारणबारे केही बताइएको छैन ।
के भन्छ युक्रेन?
युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले मङ्गलवार छद्यम जनमत सङ्ग्रहले केही परिवर्तन नगर्ने बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले रुसले क्राइमियालाई आफूमा गाभेको कदमलाई मान्यता दिएको छैन । तर रुसले कब्जा गरिएका अन्य क्षेत्रलाई पनि त्यसैगरी आफ्नो हो भन्ने दाबी गर्ने आशय राखेको लामो समयदेखि स्पष्ट रहँदै आएको छ ।
थप युक्रेनी भूभाग गाभ्दा क्रेम्लिनले आफू नेटोका अस्त्रको आक्रमणमा परेको दाबी गर्न सक्नेछ । रुसले युक्रेनमा फेब्रुअरी २४ मा आक्रमण थालेको थियो ।
रुसले युक्रेनमाथि गरिएको अतिक्रमणलाई अझै पनि युद्ध भनिसकेको छैन । उसले त्यसलाई युक्रेनमा गरिएको ‘विशेष सैन्य कारबाही’ भन्ने गरेको छ ।
क्रेम्लिनले तय गरिएका सबै कार्य नसकिएसम्म आफ्नो सैन्य अभियान जारी रहने बताउँदै आएको छ । लडाइँमा दुवै पक्षतर्फ ठूलो सङ्ख्यामा सैनिकहरू हताहत भएका छन् । तर कसैले पनि त्यसको आधिकारिक सङ्ख्या प्रकाशित गरेको छैन ।
युक्रेनले ५०,००० भन्दा बढी रुसी सैनिकलाई मारिएको दाबी गरेको छ । गत महिना उसले युद्ध सुरु भएपछि आफ्नो पक्षतर्फ ९,००० सैनिकको ज्यान गएको बताएको थियो । रुसले मृत्यु भएका आफ्ना सैनिकबारे हतपत जानकारी दिँदैन। उसले युक्रेनमा भएको सैन्य कारबाहीका क्रममा आफ्ना १,३५१ सैनिकको ज्यान गएको गत मार्च महिनामा बताएको थियो । जुलाईमा अमेरिकी अधिकारीहरूले १५,००० रुसी सैनिकको मृत्यु भएको अनुमान सार्वजनिक गरेका थिए ।
युद्धका क्रममा सर्वसाधारण नागरिकहरू पनि हताहत भएका छन्। संयुक्त राष्ट्रसङ्घले ५,७०० जनाभन्दा बढी गैरसैनिकको ज्यान गएको सेप्टेम्बरको सुरुतिर बताएको थियो । तर उसका अनुसार मृत्यु हुने मानिसको सङ्ख्या त्यसभन्दा निकै बढी हुनसक्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:२९
प्रतिक्रिया दिनुहोस्