गुल्मीमा निर्वाचनको खर्च नबुझाउने ६० जना उम्मेदवार कारबाहीमा
गुल्मी – जिल्लामा निर्वाचन खर्च नबुझाउने ६० जना स्थानीय तह निर्वाचन २०७९ का उम्मेदवार कारवाहीमा परेका छन् । निर्वाचनमा उम्मेदवार वा प्रतिनिधिले ३० दिनभित्र निर्वाचन कार्यालयमा खर्च विवरण पेस गर्नुपर्ने प्रावधान छ तर गुल्मीमा स्थानीय तह निर्वाचन ऐन उल्लंघन गर्दै उम्मेदवारले महिनौँ बितिसक्दा समेत खर्च विवरण बुझाउन सकेका छैनन् ।
शुक्रवार निर्वाचन आयोगले खर्च विवरण नबुझाउने उम्मेदवार वा प्रतिनिधिको नाम सार्वजानिक गरेको छ । जसमा खर्च विवरण नबुझाउने गुल्मीका ६० जना उम्मेदवार र प्रतिनिधि कारबाहीमा परेका छन् ।
शुक्रवार निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाउने उम्मेदवार मध्ये नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारका लागि ४ लाख ५० हजार, नगरपालिका अन्तर्गतका वडा अध्यक्ष, सदस्य, दलित महिला सदस्य र महिला सदस्यका लागि २ लाख जरिवाना तोकेको छ ।
खर्च विवरण नबुझाउने निर्वाचित उम्मेदवार मुसीकोट नगरपालिकाका मेयर जीव लाल खरेल, उपमेयर गंगा श्रेष्ठ, कालिगण्डकी गाउँपालिका अध्यक्ष वेद बहादुर थापा, सत्यवति गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले हाल सम्म निर्वाचन खर्च बुझाएका छैनन् ।
२ नगरपालिका र १० गाउँपालिका गरी गुल्मीमा कुल १२ स्थानीय तह छन् । गुल्मीदरबार गाउँपालिकाका ९ जना ,सत्यवती र ईस्मा गाउँपालिकाका ७ जना, कालिगण्डकी, धुर्कोट, मदाने,र मालिका गाउँपालिकाका ५ जना तथा चन्द्रकोट र रुरुक्षेत्र गाउँपालिकाका २ जना, मुसिकोट नगरपालिकाका ६, रेसुगां नगरपालिकाका ७ जना उम्मेदवार रहेका छन् । खर्च विवरण नबुझाउने र कारवाहीमा पर्ने आधिकांश पराजित भएका उम्मेदवार छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१२
प्रतिक्रिया दिनुहोस्